दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन् । रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखापरेको हो । नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन् । बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौंमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो । बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ ।

मलेरियाका बिरामी दैलेख क्षेत्र नम्बर २ को दुल्लू नगरपालिका, आठबीस नगरपालिका, क्षेत्र नम्बर १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो । मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा. निराजन पन्तले बताए । पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सतर्क रहन सल्लाह र परामर्श दिने गरेको बताए । जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ ।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा. मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारी रूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिन्छ । ‘रोजगारीका लागि मुग्लान जाने फर्किंदा मलेरियाको संक्रमित भइ फर्किने हुनाले संक्रमितको उपचार र हुन सक्ने संक्रमणलाई रोक्न स्थानीय सरकार विशेष महŒव दिएर लाग्नुपर्छ’, उनले भने । नेपाल सरकारको नीतिअनुसार एक जना मात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीबाट जाँच गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः   २९ माघ २०७६, बुधबार ०५:०५