प्रविधिमैत्री सिकाइमा जोड दिँदै स्थानीय सरकार

सुर्खेत : सुुर्खेतका स्थानीय तहले प्रविधिमैत्री शिक्षालाई जोड दिन थालेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये दुई वटाले पहिलो पटक प्रविधिमैत्री ‘भर्चूअल कक्षा’ सुरु गरेका छन् । जिल्लाका भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाले ‘भर्चूअल कक्षा’ सुरु गरेका हुन् ।

दुवै नगरपालिकाले पाँच÷पाँच वटा विद्यालयमा भर्चूअल कक्षा सुरु गरेका छन् । भेरीगंगाले शारदा माध्यमिक विद्यालय छिन्चु, प्रभात माध्यमिक विद्यालय थानीचौर, शिखर माध्यमिक विद्यालय रामघाट, जनज्योति माध्यमिक विद्यालय झिङ्नी र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लोदेमा भर्चूअल कक्षा सुरु गरेको छ । यस कार्यक्रमका लागि १६ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुुख धिरेन्द्रप्रसाद शर्माले शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि भर्चूअल कक्षा सुरु गरेको बताए । उनका अनुसार शारदा मावि छिन्चुबाट अन्य विद्यालयमा एकै पटक भिडियो तथा अडियोमार्फत शिक्षक र विद्यार्थीहरूले दोहोरो संवाद गरेर पढ्ने गरेका छन् । पाँच विद्यालयको नौ वटा कक्षामा पढाइएको छ ।

सुरुमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरूका लागि लक्षित कक्षा सञ्चालन गरिएको हो । अहिले परीक्षणकाल भएकाले यसलाई आगामी दिनमा अरु विद्यालयमा पनि विस्तार गरिने योजना रहेको शर्माले जानकारी दिए । ‘अबको शिक्षा भनेको प्रविधिमैत्री हुुनुपर्छ । कक्षा कोठालाई प्रविधिमैत्री गराएर इन्टरनेटबाट पढाउन सकियो भने प्रभावकारी शिक्षण सिकाइ हुुन्छ । त्यसैले हामीले यो कार्यक्रम सुरु गरेका हौं’ उनले भने । साविकको शैक्षिक जनशक्ति विकास केन्द्रले सुरु गरेको भर्चूअल कक्षाभन्दा फरक रहेकाले यसलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गरे । यो प्रविधि अलि महङ्गो भएकाले प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाले पनि पाँच वटा सामुदायिक विद्यालयमा भर्चूअल कक्षा सुरु गरेको छ । नगरपालिकाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतु र पारेगाउँ, मदरसा मदिना माध्यमिक विद्यालय, आनन्द माध्यमिक विद्यालय कृष्णगन्ज र प्रभात माध्यमिक विद्यालय कोलडाँडामा सुरु गरेको छ । यस कार्यक्रमका लागि नगरपालिकाले दश लाख रूपैयाँ रूपैयाँ विनियोजन गरेको थियो । अमरज्योति नमूना माध्यमिक विद्यालयबाट पाँच वटा विद्यालयमा भिडियो तथा अडियोमार्फत एकै पटक पढाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको शिक्षा शाखाका अधिकृत सोमप्रसाद आचार्यले विद्यालयमा ल्यापटप, टिभी र इन्टरनेटको व्यवस्था गरेको बताए । पर्याप्त दरबन्दी नभएर शिक्षक अभाव भएका विद्यालयहरूमा यो कार्यक्रम लागुु गरिएको उनको भनाइ छ । आचार्यका अनुसार वीरेन्द्रनगर नगरपालिकामा पनि एसईईको परीक्षालाई लक्षित गरेर गणित, विज्ञान र अंग्रेजी विषयमा कक्षा सञ्चालन गरिएको छ ।

शिक्षक अभाव भएर गाउँका विद्यालयका विद्यार्थीहरू ट्युसन कक्षा लिन बजार आउनुुपर्ने बाध्यतालाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको स्थानीय तहहरूले जनाएका छन् । ‘भिडियो तथा अडियोमार्फत विद्यार्थीहरूले शिक्षकसँग आफूले नजाने विषय सोध्छन् र एसएमएसमार्फत पनि शिक्षकलाई सोध्न सक्छन् । यसले शिक्षण सिकाइमा सहयोग पुुग्ने अपेक्षा गरेका छौं’ उनले भने । यो कार्यक्रमलाई अन्य विद्यालयमा पनि विस्तार गर्ने योजना नगरपालिकाले बनाएको छ ।

प्रकाशित मितिः   २८ माघ २०७६, मंगलवार ०५:०२