रुट परमिटविनै सवारी सञ्चालन

Chhepareसुरेन्द्र सिंह
जाजरकोट, ८ भदौ ।
रुट परमिट (सडक सञ्चालन अनुमतिपत्र) नभएका सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बुधवार बसेको यातायात व्यवस्था समितिको बैठकले रुट परमिट नभएका सडकमा सवारी सञ्चालन गर्न रोक लगाएको हो ।
जाजरकोटदेखि जुम्ला जोड्ने सडक खण्ड अन्तर्गतको खलंगा–पाँचकाटिया सडक खण्ड, जाजरकोटदेखि डोल्पा जोड्ने सडक अन्तर्गत दल्ली–तल्लुबगर सडक खण्डमा यातायातका साधनहरू सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । दल्ली–तल्लुबगर सडकमा सञ्चालन हुने गरेका १२ वटा जीप र ५ वटा ट्रेक्टर त्यत्तिकै थन्केका छन् । यी सडकहरूमा यातायात व्यवसायीहरूले यात्रुहरूबाट चर्को भाडा असुल्दै आएका थिए । जाजरकोट–जुम्ला अन्तर्गतको खलंगा–पाँचकाटियाको १७ किलोमिटर सडकमा ४ सयदेखि ६ सय ५० सम्म भाडा असुल्ने गरेको स्थानीयवासी सुरिता बस्नेतले बताइन् । त्यस्तै जाजरकोट डोल्पा सडक अन्तर्गतको दल्ली–तल्लुबगर सडक खण्डको २६ किलोमिटर सडकमा व्यवसायीले ६ सय देखि ९ सयसम्म भाडा तिर्ने गरेको नर्कु–३ डोल्पाका दिलीप शाहीले बताए । रुट परमिट नभएको जोखिमयुक्त सडकमा व्यवसायीले जबरजस्ती सवारी सञ्चालन गरेको शाहीले बताए । त्यस्तै जाजरकोट–डोल्पा सडक अन्तर्गतकै छेपारे–राडी सडकको झन्डै ७ किलोमिटर सडकमा तीन सय ५० देखि पाँच सय ५० सम्म तिर्ने गरेको यात्रुहरूको गुनासो छ । यी सडकहरूमा यातायात व्यवसायीहरूले जीपमार्फत् सेवा दिँदै आएका छन् । तर, जीपहरूको यात्रु क्षमता ८ देखि १० जनासम्म बोक्ने भए पनि व्यवसायीहरूले १८ देखि २४ जनासम्म यात्रु जोखिमपूर्ण तवरले बोक्ने गरेका छन् ।
रुट परमिट नभएका जोखिमपूर्ण सडकमा सवारी सञ्चालनमा रोक लगाएपछि सवारी दुर्घटना भइ सर्वसाधारणको जनधनको क्षतिमा कमी आउने प्रमुख जिल्ला अधिकारी गौतमको ठहर छ । त्यस्तै नेपाल प्रहरीको समन्वयमा स्थायी अनुमति पाएका यस जिल्लाको विभिन्न सडक खण्डहरूमा टाइम कार्ड लागू गरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने योजना बनाइएको समेत प्रजिअ गौतमले जानकारी दिए । सवारी सञ्चालनमा रोक लागेपछि दसैंतिहार नजिकिंदै गर्दा यात्रुले सास्ती पाउन सक्नेतर्फ सचेत हुनुपर्ने नागरिक समाजका अगुवा केशवजंग शाहले बताए । प्रमुख जिल्ला अधिकारी गौतमको अध्यक्षतामा बसेको बैठकले यी सडकमा अस्थायी रुट परमिटका लागि अनुमति माग्न सिफारिस गर्ने समेत निर्णय गरेको छ । पछिल्लो समय रुट परमिट नभएका सडकमा सवारी सञ्चालन नगर्न माथिल्लो तहबाटै कडा निर्देशन आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ९ भाद्र २०७३, बिहीबार ०४:४४