विकास निर्माणको अनुगमनमा जोड
साझा बिसौनी संवाददाता
सुर्खेत, ८ भदौ ।
लगाम गाउँ विकास समितिका नागरिकहरूले गाविसमा भइरहेको विकासे कामहरूको प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिएका छन् । यूएसएआईडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित साझेदारी विकास परियोजना र गो गो फाउण्डेशनको सहयोगमा गाविस कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिहरूको यस्तो जोड दिएका हुन् ।
कामहरूको समयमै अनुगमन नहुँदा गुणस्तरीयता नभएको भन्दै गुणस्तरीय कामका लागि अनुगमन अत्यावश्यक रहेको उनीहरूको भनाइ थियो । समयमा अनुगमन नहुने र भए पनि प्रभावकारी रूपमा नहुँदा बेथिति मौलाइरहेको नागरिकको भनाइ छ । त्यस्तै उनीहरूले गाविसको बजेट शीर्षक अनुसार नै खर्च हुनुपर्नेमा जोड दिएका छन् । एक शीर्षकको बजेट अर्कै शीर्षकमा खर्च गरिरहेको पाइएकाले यसलाई रोक्नुपर्ने उनीहरूको माग थियो । स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउनुपर्ने स्थानीयबासीको भनाइ छ । स्वास्थ्यचौकीमा औषधि अभावका कारण समयमा सेवा लिन नसकिएको उनीहरूको गुनासो थियो । स्वास्थ्यचौकी टाढा रहेका कारण सेवा लिन कठिनाइ भएको भन्दै गाउँ घर क्लिनिकमै अनमी आएर सेवा प्रदान गर्नुपर्ने आवाज नागरिकले उठाएका थिए । नागरिकको मागलाई सम्बोधन गर्दै गाविस सचिव टेकबहादुर शाहीले विकासे कामहरूको प्रभावकारिताका लागि अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सचिव शाहीले स्वास्थ्य संस्थामा अभाव रहेका औषधिहरू समन्वय गरी तत्काल जिल्लाबाट मगाउनका लागि पहल थाल्ने बताए । कार्यक्रममा गाविस सचिव शाही, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विभिन्न कार्यालय प्रतिनिधि, सुन्दर नेपाल संस्थाका जिल्ला संयोजक बिना भट्टराई लगायतको सहभागिता रहेको कार्यक्रमको सहजीकरण मोहनमाया ढकालले गरेका थिए ।
साझा बिसौनी संवाददाता ।