स्ववियु चुनाव १२ गते, नयाँ निर्वाचन समिति गठन

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ भदौ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयले दोस्रो पटक निर्वाचन मिति परिवर्तन गर्दै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भदौ १२ मा गर्ने निर्णय गरेको छ । विश्वविद्यालय कार्यकारी परिषद्को बुधवार बसेको बैठकले भदौ १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
भदौ ८ गतेलाई तोकिएको निर्वाचन यसअघि १३ गतेलाई सारिएको थियो । उक्त मितिमा निर्वाचन गर्ने विषयमा विद्यार्थी सङ्गठनहरूबीच नै मतभेद सिर्जना भएपछि एक दिन अघि सारेर १२ गते गर्ने निर्णय गरिएको छ । विश्वविद्यालय पदाधिकारी र सबै विद्यार्थी सङ्गठनका केन्द्रीय तथा जिल्ला नेतृत्वसँग बुधवार भएको छलफलका क्रममा १३ गते बाहेक सबैलाई मान्य हुने मिति तोक्न विद्यार्थी सङ्गठनहरू सहमत भएका थिए । त्यसपछि बसेको कार्यकारी परिषद् बैठकले नयाँ निर्वाचन मिति तोकेको विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले जानकारी दिए ।
सुरुको मितिमा प्राविधिक समस्याका कारण निर्वाचन गर्न नसकिएको र दोस्रो पटक तय गरिएको मितिमा विद्यार्थी सङ्गठनहरू असहमत हुँदा निर्वाचन हुन नसकेको रजिस्ट्रार मल्लले जनाए । सबै विद्यार्थी सङ्गठनका केन्द्रीय र जिल्ला नेतृत्वसँग छलफल गरेरै नयाँ मिति तोकिएकाले उक्त मितिमा जसरी पनि निर्वाचन सम्पन्न हुने उनले बताए । सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्नका लागि पटक–पटक मिति सार्नुपरेको भन्दै मल्लले अब निर्वाचन मिति परिवर्तन गर्ने कुनै सम्भावना नरहेको जनाए ।
यसैबीच नयाँ मितिमा हुने स्ववियु निर्वाचनका लागि नयाँ निर्वाचन समिति गठन गरिएको छ । पूर्वनिर्धारित समयमा निर्वाचन गराउन असफल भएपछि यसअघि गठित निर्वाचन समितिले राजीनामा दिएको थियो । इन्जिनियरिङ्ग सङ्कायका निमित्त डीन अनन्तराज घिमिरेको संयोजकत्वमा सात सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा आनन्दप्रसाद सुवेदी छन् भने सदस्यहरूमा लक्ष्मीप्रसाद आचार्य, अमृतकुमार शर्मा गैरे, विक्रमबहादुर खड्का, कृष्णप्रसाद चपाईं र वीरबहादुर पौडेल रहेका छन् ।

प्रकाशित मितिः   ९ भाद्र २०७३, बिहीबार ०४:४०