दशौं राष्ट्रिय खेलकुद कर्णालीमा

पूर्वाधारका लागि गृहकार्य

सुर्खेत : कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक तयारी थालिएको छ । २०७९ सालमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा गर्नका लागि तयारी स्वरूप प्रदेश राजधानीमा शनिवारदेखि पहल थालिएको हो । सबैभन्दा पहिला पूर्वाधारको खोजी गर्न लागिएको छ । सुर्खेत जिल्ला खेलकुद विकास समितिको पहलमा खेलसँग सम्बन्धित पदाधिकारी, प्रशिक्षक, खेलाडीहरूबीच शनिवार छलफल गरी राष्ट्रिय खेलकुदलाई कर्णालीमा सफल बनाउन भौतिक पूर्वाधारको खोजी गर्नुपर्नेमा एकमत भएका छन् । प्रतियोगिता तीन वर्षपछि हुने भएपनि पूर्वाधार निर्माणका लागि अहिलेबाट नै जुट्नुपर्ने उनीहरूको भनाइ छ ।

भौगोलिक विकटता भएको कर्णाली प्रदेशमा हुने विभिन्न खेलका लागि आवश्यक पर्ने मैदान नै पहिलो आवश्यकता छ । समथर जमिन भएको प्रदेश राजधानी सुर्खेत बाहेक अन्य जिल्लामा पनि खोजी गर्नुपर्ने भन्दै उनीहरूले कुन खेल कहाँ गर्दा उत्तम हुन्छ भनेर त्यसको पूर्वतयारी गर्नुपर्ने पनि जनाएका छन् । पूर्वाधार निर्माण नै पहिलो आवश्यकता भएकोले त्यसका लागि आजैबाट खटिनुपर्ने अवस्था आएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राम वलीले बताए ।

खेलकुद विकास समितिका निवर्तमान कोषाध्यक्ष वीरबहादुर रावतले प्रतियोगिताका लागि खेलमैदान, कवर्ड हललगायतका भौतिक पूर्वाधारको खोजी गर्नुपर्ने र सुर्खेतमै पनि पर्याप्त भएको जानकारी दिए । उनले २०७९ सम्म प्रदेशमा प्रतियोगिताका लागि आवश्यक पूर्वाधारहरू बनिसक्ने दावी पनि गरे । कराँतेका प्रशिक्षक प्रदिपकुमार राईले १०औं खेलकुद जस्तो मेगा प्रोजेक्ट सुर्खेतमा आयोजना गर्ने गरी पूर्वाधार विकासमा लगानी गर्न नगरपालिकादेखि प्रदेश सरकारसँग पहल गर्नुपर्ने सुझाव दिए ।

खेलकुद विकास समितिका पूर्व क्षेत्रीय सदस्य अर्जुनजङ्ग शाहीले समय छ भन्दैमा चुप लागेर बस्न नहुने सुझाव दिए भने उसु संघका अध्यक्ष हरि थापाले प्रदेशमा सबै खेलहरू गराउन सकिने गरी पूर्वाधार निर्माणमै जोड दिए । प्रदेश खेलकुद विकास समितिका प्रमुख विरोधविक्रम जिसीले पनि पूर्वाधार निर्माणमा समय लाग्ने भएकोले आजैबाट अग्रसर हुनुपर्ने बताए । उनले भौतिक पूर्वाधार निर्माणमा खेलाडी, पदाधिकारी, प्रशिक्षकलगायत सबैले पहल गर्नुपर्ने पनि बताए ।

बक्सिङ्गका प्रशिक्षक दिलिपसिंह ठकुरीले १०औं राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषद्को अस्तित्व कायम हुनुपर्ने बताए । उनले संविधानमा मात्रै संघीयता आएको उल्लेख गर्दै प्रदेश सरकारले गठन गरेको परिषद्लाई राखेपले मान्यता नदिएको गुनासो गरे । सुर्खेतमा फुटबल, पौडी, क्रिकेट, एथ्लेटिक्स लगायतका खेलमा प्रतियोगिता गराउन पूर्वाधार निर्माणका लागि बजेटको पहल हुनुपर्ने र रंगशाला निर्माण कार्य समयमै हुनुपर्ने सहभागिहरूको सुझाव छ । त्यस्तै बास्केटबल, तेक्वान्दो, ह्याण्डबल लगायतका खेलमा प्रतिस्पर्धा गराउन पनि जग्गा लगायत पूर्वाधार अभाव रहेको सम्बन्धित खेलका प्रशिक्षकले बताएका छन् ।

केन्द्र सरकारले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णालीका सबै जिल्लामा ५० लाखका दरले बजेट पठाइसकेको छ । सुर्खेतमा प्रतियोगिताका लागि प्याराफिट सहितको तीन वटा कवर्डहल निर्माण तत्कालै सम्पन्न हुने बताइएको छ भने केन्द्र सरकारले गुरुयोजना सहितको डीपीआर निर्माणको काम सम्पन्न गरिसकेको छ । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष चन्द्रकुमार गिरी, पूर्व अध्यक्षहरू डिल्ली सुवेदी, ऋषि गिरी, प्रशिक्षक इन्चार्ज भुवन थापा, भलिवल संघका केन्द्रिय सदस्य मंगल श्रेष्ठ लगायत प्रशिक्षकहरूले विभिन्न सुझावहरू दिएका थिए ।

प्रकाशित मितिः   २६ माघ २०७६, आईतवार ०५:०२