छुवाछुविरुद्ध सामूहिक प्रतिबद्धता


सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. १० का नागरिकले सामूहिक रूपमा जातीय छुवाछुतविरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन्् । वडा कार्यालयको आयोजनामा जातीय छुवाछुत तथा विभेद सम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी करिब एकसय बढी नागरिकले सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् । दलितको मुद्दा गैरदलितको पनि हुनुपर्ने भन्दै उनीहरूले परिवर्तनको सुरुवात आफैंबाट हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै सहभागी प्रेम खत्रीले मान्छे–मान्छे बीचमा हुने विभेदको अन्त्य नभएसम्म विकासले समेत गति नलिने बताए । उनले यस्ता खालका कुरितीविरुद्ध वडास्तरबाटै पहल चाल्नुपर्नै बताए ।

त्यस्तै लक्ष्मी रानाले समेत हरेक नागरिकले छुवाछुतविरुद्ध प्रतिबद्ध भएर लागे मात्रै यसको अन्त्य हुने बताइन् । उनले दलित सम्बन्धी कार्यक्रममा गैरदलितको उपस्थिति प्रायः नहुने भन्दै यसलाई समेत परिवर्तन गर्नुपर्ने बताइन् । यस्तो खालको सचेतना दलितलाई भन्दा गैरदलितलाई दिनुपर्ने धारणा उनले राखेकी थिइन् । कार्यक्रममा सहभागी सबैले जातीय छुवाछुत आफू पनि नगर्ने र गर्नेलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । वीरेन्द्रनगर नगरकार्यपालिका सदस्य तथा वडा नं. १० की सदस्य लक्ष्मी वि.क.ले उत्पीडनमा रहेको समुदायलाई माथि उठाउनको लागि यो कार्यक्रमको आयोजना गरेको बताइन् । उनले कार्यक्रममा दलित मात्रै नभइ गैरदलितलाई समेत सहभागी गराई कानुनमा भएको कुराहरूको बारेमा बुझाइएको बताइन् । ‘हामीहरूले पहिलो पटक यसरी दलित सम्बन्धी कार्यक्रममा गैरदलितलाई सहभागी गराएका हौं’ उनले भनिन् ‘कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा छुवाछुत नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सांसद पद्मा खड्काले कर्णालीको भौगोलिक विकटता भन्दा अझै जातीय छुवाछुत दर्दनाक भएको बताइन् । कर्णालीका विभिन्न जातीय छुवाछुत हटाउनको लागि छुवाछुत सम्बन्धी विधेयक ल्याउन लागिएको उनले बताइन् । ‘दलितका लागि दलित मात्रै होइन गैरदलित पनि लाग्नुपर्छ’ उनले भनिन् ‘ हरेक व्यक्तिले आफ्ना आचरण परिवर्तन गरे जातीय छुवाछुत अन्त्य हुनुसक्छ ।’ छुवाछुतलाई गरिबीसँग जोडिएकोले कर्णालीको गरिबी समेत हटाउन जरुरी भएको उनले बताइन् ।नेकपाको प्रदेश कमिटी सदस्य अमृत बिसीले दलितले बनाएका सामग्रीलाई शुभ मान्ने र उनीहरूलाई अछुत मान्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले कसैले जातीय छुवाछुत गरेको खण्डमा तत्काल कानुनी उपचारमा लाग्नुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्ष रत्नबहादुर बुढाले आफ्नो वडाबाट जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताए । उनले हिजोको कु–संस्कारलाई परिवर्तन गर्न जरुरी भएको बताए । कार्यक्रममा अधिवक्ता गीता कोइराला र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप–प्राध्यापक उपेन्द्र वि.क.ले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मितिः   २५ माघ २०७६, शनिबार ०५:०३