सरकारप्रति अविश्वास बढ्दै

प्रदेशसभाको दोस्रो बैठक एक सातापछि


सुर्खेत : अपेक्षाकृत रूपमा काम हुन नसकेको भन्दै नागरिकहरूबाट आलोचित भइरहेको कर्णाली प्रदेश सरकारले संसद्भित्रैबाट पनि पूर्ण विश्वास आर्जन गर्न सकेको छैन । यस्तै दृष्य शुक्रवारदेखि सुरु भएको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि देखियो । प्रमुख प्रतिपक्षी दलबाट हुने आलोचना त एकातिर छँदैछ सत्तापक्षकै सांसदहरूबाट सरकारमाथि पटक–पटक प्रश्न उठ्ने गरेका छन् । सत्तापक्षका सांसदले संसद्भित्र मात्र होइन बाहिर पनि सरकारको चर्को आलोचनासहितका अभिव्यक्ति दिन थालिसकेका छन् । भित्र र बाहिरबाट आलोचना भइरहेको बेला सुरु भएको हिउँदे अधिवेशन पनि सरकारका लागि भारी पर्ने संकेत पहिलो बैठकबाटै देखिएको छ ।

नेपाली कांग्रेसको संसदीय दलका नेता जीवनबहादुर शाहीले शुक्रवारको बैठकमा बोल्दै सरकारबाट अब अपेक्षा गर्न समेत नसकिने अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि यो सरकारले के ग¥यो भन्ने कुराहरू देख्न समेत नपाएको बताए । सरकारको गतिविधिले बरु नागरिकमा वितृष्णा पैदा भएको शाहीको तर्क थियो । उनले सरकारकै कारण कर्णालीको लाजमर्दो अवस्था भएको बताए । ‘सबैभन्दा भ्रष्ट प्रदेश भनेर कर्णाली प्रदेशलाई भनिएको छ’ उनले थपे ‘यसमा सरकारलाई लाज पनि लागेको छैन ।’ कानुन निर्माण गर्ने कुरामा समेत सरकार पछि परेको उनले बताए । साथै बजेट खर्च गर्न नसकेको र खर्च गरिएको बजेटमा पनि आफ्ना भाइ भतिजाहरूलाई बाँडेर दुरूपयोग गरिएको दावी शाहीको थियो । ‘अनुदान र कार्यक्रमका नाममा भने भाइभतिजालाई उपभोक्ता समितिमार्फत समावेश गराएर बजेट सकिएको छ’ उनले भने ।

नागरिकले धमाधम ज्यान गुमाउँदा पनि सरकार गम्भीर हुन नसकेको आरोप सांसद शाहीले लगाए । सरकारले औषधि नपाएर कोही नागरिक मर्न नपर्ने भन्दै भाषण गरे पनि नागरिकहरूको मर्ने क्रम जारी भएकोले यसतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो । ‘अब कर्णाली प्रदेशमा औषधि नपाएर कोही पनि मर्ने छैन भने सरकारले जनतालाई आश्वासन दिँदै आएको छ’ उनले भने, ‘तर मेरो जिल्ला हुम्लामा पछिल्लो केही दिनमै १६ जना नागरिकको मृत्यु भइसकेको छ । खोई सरकारको उपस्थिति ?’

साथै शाहीले अज्ञात रोगबाट नागरिकको मृत्यु भइरहेकाले सरकार गम्भीर हुनुपर्ने र तत्काल समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए । ‘अझै कति हुम्लाबासीको मृत्यु हुने हो, थाहा छैन’ उनले थपे, ‘हुम्लामा नागरिक मर्ने क्रम जारी छ । यसमा सरकारले जवाफ दिनुपर्छ ।’ यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता यामलाल कँडेलले पनि सरकारप्रति अविश्वास व्यक्त गरे । पार्टीको तर्फबाट बैठकमा धारणा राख्दै कँडेलले सरकारले नागरिकको अविश्वास बढ्नेगरी अघि बढ्न नहुने बताए । उनले विकास निर्माणतर्फ सरकारले ठोस काम गर्न नसकेको औंल्याए । प्रदेश राजधानीकै विकासको अवस्था पनि दुःखदायी रहेको उनको भनाइ थियो । ‘राजधानीको हालत त यस्तो छ’ उनले भने ‘अन्य जिल्लाको हालत के होला ? सहजै अनुमान गर्न सकिन्छ ।’ सांसद कँडेलले नागरिकको अपेक्षालाई मध्यनजर गर्दै काम गर्न सुझाव समेत दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सोशीला शाहीले सरकार बजेट कार्यान्वयनमै असफल भएको टिप्पणी गरिन् । उनले बजेट खर्चको अवस्था कागजमा देखिए पनि यथार्थमा सही ढङ्गले सदुपयोग नभएको बताइन् । बजेट खर्च नभएसम्म प्रदेशको विकास नहुने भन्दै शाहीले सरकारको मुख्य ध्यान नै त्यसतर्फ हुनुपर्नेमा जोड दिइन् ।

अर्को बैठक एक सातापछि

शुक्रवारदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठक भने निरन्तर नहुने भएको छ । पहिलो बैठक बसेको एक सातापछि मात्रै दोस्रो बैठक आह्वान गरिएको छ । ढिलागरी सुरु भएको अधिवेशन पनि नियमित नभएको भन्दै कांग्रेस सांसद शाहीले संसद्बाट आलोचना गरेका थिए । उनले हिउँदे अधिवेशन कानुन निर्माणमा केन्द्रित हुनुपर्ने र अब धेरै समय बाँकी समेत नरहेको अवस्थामा नियमित बैठक गर्नुपर्ने सुझाव दिए । उनले संसद्का बैठकहरू निरन्तर चल्नुपर्ने भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिए मात्रै संसद्को गरिमा रहने बताए । अधिवेशन अन्तर्गतको दोस्रो बैठक आगामी फागुन १ गतेका लागि आह्वान गरिएको छ ।

प्रकाशित मितिः   २५ माघ २०७६, शनिबार ०५:०४