हिउँदे अधिवेशन आजदेखि

कानुन निर्माणमा केन्द्रित

एक दर्जन बढी विधेयक पेश हुँदै


सुर्खेत : कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रवार)देखि सुरु हुँदैछ । वर्षे अधिवेशन स्थगित भएको चार महिनापछि हिउँदे अधिवेशन आह्वान गरिएको हो । हिउँदे अधिवेशन विशेष गरेर विधेयक अधिवेशन हो । सरकारद्वारा विधेयक पेश गर्ने, आवश्यक छलफल गर्ने र पारित गर्नेमा यो अधिवेशन केन्द्रित हुने गर्दछ । विगतमाजस्तै आजदेखि सुरु हुने हिउँदे अधिवेशन पनि विधेयक केन्द्रित हुनेछ । अधिवेशन अवधिभर एक दर्जनभन्दा बढी विधेयक संसद््मा पेश हुँदैछन् । दर्जन बढी नयाँ विधेयक पेश हुनुका साथै यसअघि नै संसद््मा पेश भएर छलफलमा रहेका विधेयक पारित गर्ने लगायतका योजना रहेको संसद् सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार यो अधिवेशन अवधिभर १३ वटा विधेयकहरू संसद् बैठकमा पेश गर्ने तयारी गरिएको छ ।

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले बजेट अधिवेशनमा जस्तो अन्य काम नभए पनि विधेयक केन्द्रित काम हुनेछन् । यसका लागि १३ वटा सम्भावित विधेयकको मस्यौदा तयार भइसकेका छन् । प्रदेश सरकारका तीन वटा मन्त्रालयले निर्माण गरेका १३ वटा विधेयक संसद्मा पेश गर्ने तयारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पाँच वटा विधेयक तयार पारेको छ । मन्त्रालयले तयार पारेका सम्भावित विधेयकहरूमा कर्णाली प्रदेश जलचर विधेयक–२०७६, जीवनाशक विषादी नियन्त्रक विधेयक–२०७६, कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवद्र्धन विधेयक–२०७६, माटो तथा मल व्यवस्थापन विधेयक–२०७६ र पशु बधशाला तथा मासु जाँच सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७६ रहेका छन् ।

यस्तै सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६, बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ गरेर तीन वटा विधेयकको मस्यौदा तयार पारेको छ । जुन यो अधिवेशनमा संसद्मा पेश गरेर पारित गर्ने तयारी गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका पाँच वटा विधेयक संसद्मा पेश हुँदैछन् । जसमा कर्णाली प्रदेश वातावरण संरक्षण सम्बन्धी विधेयक–२०७६, कर्णाली प्रदेश वन सम्बन्धी विधेयक–२०७६, कर्णाली प्रदेश वाणिज्य सम्बन्धी विधेयक–२०७६, कर्णाली प्रदेश औद्योगिक व्यवसाय सम्बन्धी विधेयक–२०७६ र कर्णाली प्रदेश पर्यटन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । उल्लेखित विधेयकहरूलाई हिउँदे अधिवेशनमा पेश गरेर पारित गर्ने तयारी संसद् सचिवालयको छ ।

कानुन निर्माणका साथसाथै सांसदहरूमार्फत सरकारलाई ध्यानाकर्षण गराउने काम पनि संसद्मा हुनेछ । नागरिकका आवाजलाई सांसदहरूले संसद्मा उठाउनेछन् । अधिवेशन अवधिमा के–के गर्ने भन्ने विषयमा विभिन्न विभिन्न संसदीय समितिका अध्यक्षहरूसँग छलफल गर्ने तयारी समेत संसद् सचिवालयले गरेको छ । आज (शुक्रवार) बस्ने बैठकको कार्यसूची भने तयार भइसकेको छ । संसद् सचिव बुढाथोकीका अनुसार हिउँदे अधिवेशनको पहिलो दिन आज हुने बैठकमा भने संसद्मा प्रतिनिधित्व गर्ने दलको तर्फबाट दलका एक–एक जना नेताले बोल्ने छन् । ‘बैठक दिउँसो तीन बजे सुरु हुँदैछ’ उनले भने ‘अधिवेशनको पहिलो दिन भएकोले अरु खासै एजेण्डा छैनन् ।’ आज अधिवेशनको सुरुवात गर्ने गरी पहिलो बैठक बस्ने र दोस्रो बैठक भने फागुन १ गते बस्ने गरी तयारी गरिएको छ । त्यसअघि माघ २९ गते कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सोही बैठकले थप कार्ययोजना र एजेण्डा तयार पार्ने जनाइएको छ ।

प्रदेशसभाले दुई वर्षको अवधिमा २९ वटा विधेयक पारित गरिसकेको छ । संसद्मा पेश भएका ३७ विधेयकमध्ये २९ पारित भइसकेका छन् भने केही विभिन्न समितिमा छलफल र संशोधनका क्रममा छन् । यो अधिवेशनमार्फत ती विधेयकहरू पनि पारित गर्ने कार्यसूची रहेको जनाइएको छ ।

प्रकाशित मितिः   २४ माघ २०७६, शुक्रबार ०५:०२