समृद्धिका लागि काम गर्न सुझाव
सुर्खेत : नागरिक संगठनले आर्थिक समृद्धिको एजेण्डा ल्याउनुपर्ने कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताएका छन् । बिहीवार गोगो फाउण्डेशनले वीरेन्द्रनगरमा आयोजना गरेको नागरिक संस्था सम्बन्धी कानुनी संरचना र सवाल विषयक सांसद नागरिक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपालमा नागरिक संगठनलाई नियन्त्रण गर्नुपर्ने कुनै कारण नभएको भन्दै मन्त्री रावलले पूरानै शैली धेरै भएको बताए । ‘नागरिक संगठनले लोकतन्त्रलाई संस्थागत गर्नेदेखि नागरिकलाई थुप्रै सचेतना फैलाएका छन्’ उनले भने ‘तर अब नागरिक संगठन आर्थिक समृद्धिको एजेण्डा बोकेर हिँड्नुपर्छ ।’ नागरिक संगठनले राज्यलाई र राज्यले नागरिक संगठनलाई आरोप लगाउन नहुने उनले बताए । जनताको पक्षमा नागरिक संगठनलाई व्यवस्थित गर्नुपर्ने जरुरी भएको मन्त्री रावलको भनाइ थियो । ‘हामी नागरिक संघ–संगठनसँग सहकार्य गर्न तयार छौं’ उनले थपे ‘तर प्रदेश सरकारले तयार गरेको प्राथमिकतामा नागरिक संगठन हिँड्नुपर्छ ।’ लोकतन्त्रका आधारभूत मान र मर्यादा नमार्ने गरी नागरिक संगठन हिँड्नुपर्ने उनले बताए ।
कार्यक्रममा नागरिक संगठनको तर्फबाट बोल्दै अधिवक्ता गणेश वलीले राज्य अझै पनि नागरिक संगठनलाई नियन्त्रण गर्ने सोचमा सरकार भएको बताए । उनले नागरिक संगठन राज्यको उपस्थिीत समेत नभएको ठाउँमा पुगेको भन्दै यसमा राज्यको समन्वयकारी भूमिका हुनुपर्ने बताए । त्यस्तै गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरिप्रसाद अधिकारीले नागरिक संगठन सरकारको विरोधी नभइ सहयोगी भएको बताए । उनले हरेक क्रियाकलापमा समन्वयकारी भूमिकामा नागरिक संगठन बस्न चाहेको बताए । कर्णाली प्रदेशसभा सदस्य सुशीलकुमार थापाले नागरिक संगठनको खर्च गर्ने शैलीप्रति नागरिकको बुझाइ फरक भएको बताए । उनले नागरिक संगठन सरकारलाई अपरिहार्य भए पनि केही व्यवहारहरू परिवर्तन
गर्नुपर्ने बताए ।
साझा बिसौनी ।