एउटै कक्षाबाट पाँच वटा विद्यालयमा पढाइ

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरका पाँच वटा सामुदायिक विद्यालयमा ‘भर्चूअल कक्षा’ सुरु गरेको छ । कम्प्युटरको माध्यमबाट प्रत्यक्ष रूपमा विद्यार्थीहरूले दोहोरो संवाद समेत गर्न सक्ने गरी भर्चूअल कक्षाको सुरुवात गरिएको हो । नगरपालिकाको वडा नं. १५ का दुईवटा विद्यालय र उपत्यकाभित्रका तीन वटा विद्यालयमा यो कक्षा सुरु गरिएको विद्यालय निरीक्षक उत्तम आचार्यले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय देवीस्थान रतु र पारेगाउँ तथा मदरसा मदिना माध्यमिक विद्यालय, आनन्द माध्यमिक विद्यालय कृष्णगन्ज र प्रभात माध्यमिक विद्यालय कोलडाँडामा उक्त कक्षा सञ्चालनका लागि दशलाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

अमरज्योति नमूना माध्यमिक विद्यालयबाट प्रत्यक्ष रूपमा शिक्षण गरिएको कक्षा उक्त पाँच वटा विद्यालयका विद्यार्थीले अध्ययन गर्न पाउने भएका हुन् । उक्त प्रविधिको लागि नगरले ल्यापटप र इन्टरनेटको समेत व्यवस्था गरिदिएको उनले बताए । ‘वीरेन्द्रनगर नगरपालिका–१५ का विद्यालयमा निम्न माध्यमिक तहबाटै शिक्षक दरबन्दी छैन’ विद्यालय निरीक्षक आचार्यले भने, ‘अन्य विद्यालयमा समेत न्यून शिक्षक दरबन्दी भएकोले भर्चूअल कक्षा सञ्चालनमा ल्याइएको हो ।’ तत्कालका लागि कक्षा १० का विद्यार्थीहरूलाई एसईई परीक्षाको तयारीलाई मध्यनजर गरेर कक्षाहरू सञ्चालनमा ल्याइएको उनले बताए । कक्षा दशको गणित, विज्ञान र अङ्ग्रेजी विषयका कक्षाहरू भर्चूअल माध्यमबाट पढाइनेछ ।

वीरेन्द्रनगर–१२ को अमरज्योति नमूना माध्यमिक विद्यालयको शिक्षण शिक्षक दरबन्दी नभएका अन्य पाँचवटा विद्यालयका विद्यार्थीहरूले लिन पाउने उनले बताए । कक्षा सञ्चालन हुने विद्यालयमा समेत विषयगत शिक्षक अनिवार्य कक्षामा बस्ने उनले बताए । दुर्गमका विद्यालयमा शिक्षक भए पनि गुणस्तर नभएको र विद्यार्थीहरू ट्युसन कक्षा लिन सदरमुकाम आउनुपर्ने बाध्यतालाई रोक्न समेत यो प्रविधि अपनाइएको आचार्यको भनाइ थियो । ‘विद्यार्थीले प्रत्यक्ष रूपमा शिक्षकसँग प्रश्न गर्न पाउँछन्’ उनले थपे ‘त्यतिमात्रै होइन दोहोरो संवादको शिक्षण सिकाइले विद्यार्थीमा राम्रो सिकाइ हुन्छ ।’

पहिलो चरणमा प्रविधिको जडान दुर्गमको वडाका विद्यालयबाट गरेको भन्दै आचार्यले बिहीवार वीरेन्द्रनगर नगरपालिका–१५ का दुईवटा विद्यालयबाट कक्षा सुरु गरिएको जानकारी दिए । कक्षा १० मा मात्रै नभइ निकट भविष्यमा कक्षा ८ का विद्यार्थीहरूलाई समेत भर्चूअल कक्षामा जोड्ने उनले बताए । यो परीक्षणकाल भएको भन्दै आचार्यले प्रविधि सफल भएको खण्डमा नगरका अन्य विद्यालयहरूमा समेत भर्चुअल कक्षा सुरु गरिनेछ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय देवीस्थान रतुका शिक्षक प्रेम सारु मगरले विद्युत समेत नपुगेको क्षेत्रमा भर्चूअल कक्षाबाट अध्ययन गर्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको बताए । उनले विद्यालयमा शिक्षक दरबन्दी नभएको अवस्थामा वीरेन्द्रनगर नगरपालिकाले उपयुक्त विकल्पको खोजी गरेको बताए । ‘शिक्षकको विकल्पकै रूपमा भर्चूअल कक्षा सञ्चालन भएको हो’ उनले भने ‘विद्यार्थीलाई प्रविधिसँग जोड्नु अझै उत्कृष्ट काम हो ।’

प्रकाशित मितिः   २४ माघ २०७६, शुक्रबार ०५:००