ग्यास स्टक नराख्न आग्रह

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ चैत ।
जिल्ला आपूर्ति समिति सुर्खेतले आवश्यकता भन्दा बढी ग्यास स्टक नराख्न उपभोक्ताहरूलाई आग्रह गरेको छ । उपभोक्ताले घरमा स्टक राखेका कारण बजारमा ग्यासको हाहाकार भएको समाचार प्रकाशित भएपछि समितिले यस्तो आग्रह गरेको हो । समितिले सोमवार सूचना निकालेर घरमा ग्यास स्टक नराख्न आग्रह गरेको छ ।
पहिलाको तुलनामा दोब्बर सिलिण्डर भित्रिँदा समेत सुर्खेतमा अहिले खाना पकाउने ग्यासको चरम अभाव भएको छ । भारतीय नाकाबन्दीको बेलामा समेत ग्यास पाएका यहाँका उपभोक्ताहरूले हिजोआज निकै सास्ती भोगिरहेका छन् । नाकाबन्दी खुलेर आपूर्ति सहज हुँदा समेत बजारमा ग्यासको हाहाकार भएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो । उपभोक्ताले घरमा आवश्यकता भन्दा बढी स्टक राख्न थालेपछि खाना पकाउने ग्यासको अभाव सिर्जना भएकाले अबदेखि स्टक नराख्न प्रशासनले सबैसँग आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले भारतीय नाकाबन्दी खुलिसकेको र ग्यासको आयात सहज भइसकेकाले आवश्यकता भन्दा बढी स्टक नराख्न सबैसँग आग्रह गरे । साथै उनले आफूहरूले अनुगमन गर्ने समेत जानकारी दिए । अहिले हरेक हप्ता जिल्लामा ग्यास भित्रिएको भए पनि उपभोक्ताले घरमै स्टक राख्न थालेपछि चरम अभाव देखिएको छ । जसको सबैभन्दा बढी मारमा भाडामा बस्दै आएका परिवार र विद्यार्थीहरू परेका छन् । 
प्रकाशित मितिः   १६ चैत्र २०७२, मंगलवार ०६:१८