खुर्सानीको धुलो छर्केर एक लाख लुटियो

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ चैत ।
वीरेन्द्रनगरको व्यस्त बजारबाट लुटेराहरूले एक लाख रूपैयाँ लुटेका छन् । सोमवार दिउँसो लुटेराहरूले आँखामा खुर्सानीको धुलो छर्केर एक महिलाको साथमा रहेको एक लाख २५ हजार नगद लुटेका हुन् । 
बर्दियाको बाँसगढी नगरपालिका घर भएकी पार्वती बुढाको साथमा रहेको सो रकम लुटिएको हो । वीरेन्द्रनगरमा रहेको प्रभु बैंकबाट रकम झिकेर निस्किएकी पार्वतीको आँखामा खुर्सानीको धुलो छरेर लुटेराहरूले उनको साथमा रहेको सबै रकम लुटेका हुन् । रकम लुटेर भागेका लुटेराहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
बैंकबाट रकम झिकेर आफ्नो कोठातर्फ जाँदै गरेको अवस्थामा लुटेराहरूले आफूसँग भएको रकम लुटेर भागेको पार्वतीको भनाइ छ । प्रहरीका अनुसार वीरेन्द्रनगरमा रहेको कृषि विकास बैंकको पछाडि पट्टिको सडकमा रकम लुटिएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले रकम लुटिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले लुटेराहरूको खोजी भइरहेको जानकारी दिए ।
प्रकाशित मितिः   १६ चैत्र २०७२, मंगलवार ०६:२०