मध्यपश्चिममा एसएलसी, सबै परीक्षा केन्द्र बालिकामैत्री

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ चैत ।
यसवर्षको एसएलसी परीक्षामा मध्यपश्चिम क्षेत्रका सबै परीक्षा केन्द्रहरू बालिकामैत्री हुने भएका छन् । महिनावारी भएका र सुत्केरी भएका छात्राहरूका लागि लक्षित गरी परीक्षा केन्द्रहरू बालिकामैत्री बनाइएको मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार यस क्षेत्रमा कायम गरिएका सबै तीन सय १३ वटा परीक्षा केन्द्रहरू बालिकामैत्री बनाइएको छ ।
विगत वर्षमा परीक्षाका क्रममा छात्राहरू केन्द्रमै सुत्केरी हुने र अधिकांश छात्राहरू महिनावारी हुँदा परीक्षामा असर परेको भन्दै निर्देशनालयले यसपाली यो अवधारणा लागू गरेको हो । यसपटक हरेक परीक्षा केन्द्रमा छात्राका लागि छुट्टै शौचालयको व्यवस्था हुनेछ । त्यस्तै केन्द्रमा महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड, आराम कक्ष, पानीको व्यवस्था, प्राथमिक उपचारका सामग्री राखिनेछ । यस्तै भयरहित वातावरण सिर्जना गर्नका लागि मातहतका निकायलाई निर्देशन दिइएको क्षेत्रीय शिक्षा निर्देशक रामप्रसाद उपाध्यायले बताए । उनका अनुसार हरेक केन्द्रलाई बालिकामैत्री र भयरहित बनाउन जिल्ला शिक्षा कार्यालयहरूलाई परिपत्र समेत गरिएको छ । 
यसवर्षको एसएलसी परीक्षा बिहीवारबाट सुरु हुँदैछ । परीक्षामा नियमित र आंशिकतर्फ गरी मध्यपश्चिमबाट करिब एक लाख विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा केन्द्रमा हुने त्रास र भययुक्त वातावरणका कारण विद्यार्थीहरूले असहज महसुस गर्ने गरेको र यसले उनीहरूको नतिजा कमजोर आउने गरेको निर्देशनालयको ठहर छ । जसको कारण यसवर्ष हरेक केन्द्रमा केन्द्राध्यक्ष र निरीक्षकहरूले परीक्षार्थीलाई मुस्कानसहित स्वागत गर्ने भएका छन् । शिक्षा निर्देशक उपाध्यायले भने, ‘परीक्षालाई अनावश्यक भूत बनाइएको छ, विद्यार्थीहरूले जानेको कुरा पनि लेख्न सक्दैनन् । त्यसकारण हामीले यसपाली मुस्कानसहित स्वागत गर्नेछौं, हरेक परीक्षा केन्द्रहरू बालिकामैत्री हुनेछन् ।’ परीक्षामा छात्राहरूले बढी समस्या भोग्नु परेको बताउँदै उनले महिनावारी र सुत्केरी भएका छात्राहरूमा शारीरिक र मानसिक तनाव हुन नदिन यस्तो उपाय अपनाइएको जानकारी दिए । उनले थपे, ‘परीक्षा केन्द्रमा छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको छ, त्यतिमात्र होइन अधिकांश विद्यार्थीहरू तनावले बेहोस हुने गर्छन् यसलाई मध्यनजर गर्दै हामीले प्राथमिक उपचारका सामग्रीको समेत व्यवस्थापन गरेका छौं ।’
निर्देशनालयका अनुसार यस क्षेत्रका सबै परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेका छन् । यस्तै सबै केन्द्रमा केन्द्राध्यक्ष समेत नियुक्त भइसकेको उपाध्यायले जानकारी दिए । साथै उनले परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउनका लागि सुरक्षा निकाय, अभिभावक र शिक्षकसँग समन्वय गरिएको बताए । चिट चोर्ने र चोराउनेलाई कडा कारबाही गरिने भन्दै उनले यसपालीको परीक्षा मध्यपश्चिममा मर्यादित र नमुना हुने दाबी गरे । त्यसका लागि सबै जिल्ला शिक्षा कार्यालयहरूले प्रतिबद्धता जनाइसकेको उनको भनाइ छ । दुर्गममा रहेका केन्द्रमा समेत छात्राका लागि आवश्यक पर्ने वातावरण निर्माण गरिएको भन्दै उपाध्यायले परीक्षालाई मर्यादित बनाउन सबैसँग आग्रह गरे ।
सुर्खेतमा तयारी पूरा
यसैबीच सुर्खेतमा पनि एसएलसीको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला शिक्षा कार्यालयले केन्द्राध्यक्षहरूलाई परीक्षा मर्यादित र शान्तिपूर्ण बनाउन निर्देशन दिएको छ । सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलले सबै केन्द्रमा प्रश्नपत्र र उत्तपुस्तिका पुगिसकेको बताए । यस्तै जिल्लाका हरेक परीक्षा केन्द्रमा सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीका गरी १५ जना सुरक्षाकर्मी खटिने भएका छन् । पौडेलले भने, ‘विद्यार्थीलाई केन्द्रमा मुस्कानसहित स्वागत गर्न निर्देशन दिइसकेका छौं, हरेक केन्द्रमा बालिकाका लागि सेनेटरी प्याड र प्राथमिक उपचारको औषधि पुगिसकेको छ । परीक्षा मर्यादित बनाउन हरेक केन्द्रमा परीक्षा सहयोग समन्वय समिति समेत गठन भएका छन् ।’ विद्यार्थीमा परीक्षाको त्रास हुने भएकाले आफूहरूले मुस्कानसहित स्वागत गर्न सबै केन्द्रमा निर्देशन दिएको उनको भनाइ छ । यस्तै परीक्षाको तनावका कारण विद्यार्थीहरू केन्द्रमै बेहोेस हुने भएकाले त्यसका लागि नजिकका स्वास्थ्यकर्मीहरूलाई समेत तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । परीक्षाको अनुगमनका लागि समेत सबै निकायको सहभागितामा टोली गठन गरिएको शिक्षा कार्यालयले जानकारी दिएको छ । 
यसवर्षको एसएलसी परीक्षामा सुर्खेतबाट ११ हजार २७ जना विद्यार्थीले सहभागिता जनाउँदै छन् । नियमिततर्फ ६ हजार नौ सय ९६ र आंशिकतर्फ चार हजार ३१ जना परीक्षार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सबै केन्द्राध्यक्षहरूसँग छलफल समेत गरिएको छ । 
एसएलसी परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको सभापतित्वमा भएको छलफलमा ३० वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई परीक्षा व्यवस्थित र शान्तिपूर्ण बनाउन निर्देशन दिइएको छ । 
‘मर्यादित बनाऔं’
यसवर्षको एसएलसी परीक्षालाई सुर्खेतमा सबै पक्ष मिलेर मर्यादित र शान्तिपूर्ण बनाऔं । यो हाम्रो जिल्लाको प्रतिष्ठाको विषय पनि हो । विद्यार्थीले निर्धक्क भएर हलमा लेख्नसक्ने वातावण बनाउनका लागि सबैले साथ दिऔं । परीक्षालाई त्रासका रूपमा नभइ विद्यार्थीमैत्री बनाउनेतर्फ सबैको सहयोग आवश्यक छ । परीक्षालाई शान्तिपूर्ण बनाउनका लागि हामीले सम्पूर्ण सुरक्षा तयारी पूरा गरिसकेका छौं । जिल्लाका ३० वटै केन्द्रमा सुरक्षाकर्मी परिचालन हुनेछन् । यसमध्ये जिल्लाका ११ वटा परीक्षा केन्द्रमा सशस्त्र र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिनेछन् । विद्यार्थीहरूलाई त्रास नहोस् भनेर हामीले केन्द्राध्यक्षको अनुमतिविना प्रहरीलाई हलभित्र नपस्न निर्देशन दिएका छौं । 
परीक्षा हलभित्र चिट चोर्ने र नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिएको पाइएमा केन्द्राध्यक्षलाई नै तत्काल परीक्षा रद्ध गर्न सक्नेछन् । त्यसैगरी बाहिरबाट चिट चोराउने  हो–हल्ला गर्नेहरूलाई प्रहरीले पक्राउ गरी कारबाही गर्नेछन् । यसका लागि हामीले सबै केन्द्रमा जानकारी गराइसकेका छौं । एसएलसीमा अब पास–फेल भन्ने छैन । ग्रेडिङ प्रणालीमा गइसकेको हुँदा अभिभावकले पनि चिट चोराउनेतर्फ ध्यान नदिनुस् भन्ने आग्रह गर्न चाहन्छु । सबैको सहयोग र समन्वयमा मात्र परीक्षालाई मर्यादित, शान्तिपूर्ण र व्यवस्थित बनाउन सकिन्छ । यसका लागि सहयोग गरिदिन सम्पूर्ण अभिभावक, शिक्षक  विद्यार्थीहरूलाई अपिल गर्दछु । परीक्षालाई बिथोल्न खोज्ने र अमर्यादित क्रियाकलाप गर्ने जो कोहीलाई पनि प्रशासनले कानुन अनुसार कडा कारबाही गर्नेछ ।       (कुराकानीमा आधारित) 
प्रकाशित मितिः   १६ चैत्र २०७२, मंगलवार ०६:२४