मालपोतको सेवा लिनै सास्ती

सीता वली,
सुर्खेत : भैरबी गाउँपालिका दैलेखका ६६ वर्षीय तुलाराम थापा घर निर्माण गर्न गत पुस २० गते सुर्खेत झरे । वीरेन्द्रनगर–३ तातापानीमा उनी घर बनाउने तर्खरमा छन् । तर त्यसका लागि पूरा गर्नुपर्ने प्रक्रियामा अल्झिएको महिना दिन पुग्न थाल्यो । थापाको काम यतिबेला जिल्ला मालपोत कार्यालय सुर्खेतमा अल्झिएको छ । आवश्यक कागजपत्र तयार गरी लगत कट्टाको लागि उनले मालपोत कार्यालयमा निवेदन दिएका थिए । निवेदन दिएको दुई साताभन्दा बढी भइसक्यो । तर बुधवारसम्म पनि उनको काम हुन भने सकेन । ‘मैले लगत कट्टाको लागि निवेदन दिएको १५ दिनभन्दा बढी भयो’ मालपोत कार्यालय परिसरमा भेटिएका उनले भने ‘तर मेरो काम अझैसम्म पनि हुन सकेको छैन ।’ उनी हरेक दिन मालपोत धाइरहेका छन् । तर आफ्नो काम कति दिनमा सकिनु पर्ने हो र के कारणले रोकिएको छ भन्ने कुराको समेत जानकारी नभएको उनले बताए । समयमै मालपोतको काम नसकिँदा घर निर्माणमा ढिलाइ त भइरहेको छ, सँगसँगै दैनिक कार्यालय धाउनुपर्ने थप सास्ती भोग्नुपरेको थापाले बताए ।

वीरेन्द्रनगर नगरपालिका–१२ पदमपुरकी शान्ति विश्वकर्माले समेत जग्गा रोक्का प्रक्रियाको लागि मालपोत कार्यालय सुर्खेतमा निवेदन दिएको एक साता पुग्यो । बुधवारसम्म पनि उनको काम हुन सकेन । काम सकिनको लागि अझै दुई÷चार दिन लाग्ने जानकारी पाएकी छन् । तर एकिन भने छैन । ‘मेरो नागरिकता नम्बर लालपूर्जामा गलत लेखिएको रहेछ’ उनले भनिन् ‘त्यही सच्याउनलाई एक हप्ता भन्दा बढी कुर्नुपर्ने भयो ।’

शान्तिले मालपोत कार्यालयका कर्मचारीले जग्गा पास गर्दा गरेको गल्तीका कारण आफूले दुःख पाएको बताइन् । आफूभन्दा पछाडि लाइनमा बसेकाहरूको पालो पहिला आएको देख्दा आफूलाई आर्थिक चलखेल भएको आशंका लागेको समेत उनले भनाइ थियो । ‘म भन्दा पछाडि आएकाहरूको काम भइसक्छ तर म लाइनमा बसेर पालो कुरिरहेकी छु’ उनले भनिन् । सरकारी कार्यालयको सेवा छिटो, छरितो र प्रभावकारी हुनुपर्नेमा मालपोतमा भने त्यसअनुसार हुन नसकेको विश्वकर्माको गुनासो थियो ।

तुलाराम र शान्ति मात्रै होइन मालपोत कार्यालय सुर्खेतमा सेवा लिन पुग्ने अधिकांश सेवाग्राहीले समयमै सेवा नपाएको र आर्थिक चलखेल हुने गरेको गुनासो गर्छन् । नागरिक वडापत्रमा लेखिए बमोजिम आफूहरूले सेवा नपाएको उनीहरूको दुखेसो थियो । उता मालपोत कार्यालय सुर्खेतकी प्रमुख लक्ष्मी खत्रीले भने बढीमा दुई दिनमा सेवा दिने गरेको दावी गरिन् । उनले सेवाग्राहीले घरबाट आए देखिको दिनलाई समेत जोडेर कार्यालयले सेवामा ढिलाइ गरेको आरोप लगाउने गरेको बताइन् । ‘हामीहरूले नागरिकलाई सकेसम्म सेवा छिटो दिने कोशिस गरेका छौं’ प्रमुख खत्रीले भनिन् ‘तर कतिपय अवस्थामा स्थानीय तहबाटै अपुग कागजपत्र आएको हुन्छ । त्यो अवस्थामा सेवाग्राहीलाई फर्काउनुपर्ने हुन्छ ।’ स्थानीय तहमा गइ कागजपत्र सच्याएको समयलाई समेत सेवाग्राहीले मालपोतको सेवासँग जोड्ने गरेको उनको गुनासो थियो । ‘अनलाइन सिस्टमबाट सेवा दिन सुरु गरेका छौं’ उनले थपिन् ‘आर्थिक अनियमितता कसैले पनि गर्न पाएको छैन ।’ सेवाग्राहीलाई लाइनमा राखी नियमबद्ध तरिकाले नै सेवा दिएको उनले बताइन् ।

मालपोत कार्यालय सुर्खेतको मूल प्रवेशद्वार अगाडि ठूलो बोर्डमा नागरिक बडापत्रको टाँस गरिएको छ । उक्त नागरिक बडापत्रमा नाप–नक्सा, मोठ रोक्का, प्रतिलिपि, तीन पुस्ते कायम, फोटो टाँस गर्ने लगायतका सेवा सोही दिन हुने भनी उल्लेख छ । तर नागरिकले भने मालपोत कार्यालय सुर्खेतबाट नागरिक वडापत्रमा उल्लेख भए बमोजिम सेवा नपाएको गुनासो गर्दै आएका छन् । सेवा समयमै हुने त परको कुरा लामो समय लाग्दा हैरानी हुने गरेको उनीहरूको भनाइ छ । तर कार्यालयले भने जतिसक्दो छिटो सेवा दिने गरिएको दावी गर्दै आएको छ ।

प्रकाशित मितिः   २३ माघ २०७६, बिहीबार ०५:०७