विश्वकपको बाटाेमा नेपालको पहिलो हार

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले हार व्यहोरेको छ । एक सय ९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ्ग गरेको नेपालले ४६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाएपछि ओमानसँग १८ रनको हार व्यहोरेको हो । ४२ बलमा नेपाललाई जीतको लागि ३६ रन चाहिएको थियो । क्रिजमा थिए ५५ रन बनाएर खेलिरहेका शरद भेषावकर र २७ रन बनाएका सन्दीप लामिछाने । खेल नेपालको पक्षमा थियो । तर ४३.१ ओभरमा शरद आउट भएसँगै नेपाल दबाबमा आयो । लगतै ४४.१ ओभरमा सन्दीप पनि २८ रनमा आउट भए । यसपछि भने खेल ओमानको पोल्टामा गयो अन्ततः नेपाल १८ रनको झिनो अन्तरले पराजित भयो ।

खराब सुरुवात गरेको नेपालले ४ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ललाई १ र पारस खड्कालाई ३ रनमा गुमाएको थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले राम्रो साझेदारी गर्दै नेपाललाई उकासेका थिए । शरदसँग मिलेर ६२ रनको साझेदारी गरेका दीपेन्द्र ३६ रनमा मोहम्मद नदिमबको बलमा एल्बिडब्लू आउट भए । दीपेन्द्र आउट हुँदा नेपालको ६६ रन थियो । २३.१ ओभरमा आरिफ शेखलाई व्यक्तिगत ६ रनमा गुमाएको नेपालले रोहितकुमार पौडेललाई लगतै शून्य रनमा गुमाउँदा स्कोर ७३ रन थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएका विनोद भण्डारी र शरदले मिलेर नेपाललाई १०० रन पार गराएका थिए । तर विनोद भण्डारी पनि २६ रन बनाएर आउट भए ।

बलिङतर्फ ओमानका जिशन साकसोदले ३ र विलाल खान र कलिम उल्लाहले समान २–२ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएपछि नेपालले सामान्य चुनौती पाएको थियो । खराब सुरुवात गरेको ओमानका लागि मोहम्मद नदिमले उत्कृष्ट प्रदर्शन गर्दै अविजीत ६९ रन बनाए । सन्दीप गउदले ३३, नसिम खुशी २८, कप्तान जिसन माकसोदले २० र अकिब लियासले १६ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर एक ओभर मेडन राख्दै ४ विकेट लिए । त्यस्तै, नेपालका लागि सुशन भारीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । उनले पूरै १० ओभर बलिङ गर्दै १४ रन खर्चिएर १ ओभर मेडन राख्दै ३ विकेट लिए । त्यस्तै, एक विकेट दीपेन्द्रसिंह ऐरीको नाममा रह्यो । सिरिज अन्तर्गत बिहीवार ओमानले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः   २३ माघ २०७६, बिहीबार ०५:०५