न संस्कृत न संस्कृति

                                 ध्रुवकुमार अधिकारी

विषय प्रवेश

संस्कृत भनेको भाषा हो । संस्कृति भनेको सिकेको व्यवहारको स्वीकार्य प्रदर्शन हो । संस्कृत प्राचीन पूर्वीय दर्शनको माध्यम भाषा हो । संस्कृति अध्ययनबाट प्राप्त ज्ञानको आत्मानुभूतिको व्यवहारको नमूना हो । यस लेखमा संस्कृत भाषा, हाम्रो मौलिक संस्कृति र वर्तमानमा पतन हँुदै गइरहेको सदाचार र नैतिकताको विषयलाई प्रस्तुत गरिएको छ ।

संस्कृत शिक्षा ज्ञानस्रोत

हाम्रा प्राचीन वेद, उपनिषद, गीता, रामायण, पूराण आदि संस्कृत भाषामा लेखिएका थिए । यसको नेपाली भाषामा उल्था गरेरसम्म नेपाली समाजको सहज पहुँचका सामग्री बनेका छैनन् । त्यसमा विषयवस्तु के थियो भनेर हामी स्नातक समेतलाई थाहा छैन । ज्ञान थियो कि, विज्ञान थियो कि, अर्थशास्त्र थियो कि, सैनिक कला थियो कि, कलाकारिता पो थियो कि ? सोच्नेको लागि गहन विषय हुन्छ । तर हामीले बुझे अनुसार समग्र छ । यसको महत्व पश्चिमाहरूले विगतदेखि नै राम्रैसँग बुझेका रहेछन् । आज हार्वड विश्वविद्यालयमा संस्कृत पढाइ हुने रहेछ ।

हामी बढी क्रान्तिकारी बन्यौं । संस्कृत भाषालाई टपरे भाषा भनेर मिल्कायौं । आज अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयमा समेत संस्कृत भाषा पढाइने रहेछ । यति मात्र होइन, जर्मनका चौध विश्वविद्यालयमा समेत अहिले पनि संस्कृत पढाइ हुने रहेछ । उनीहरूले हाम्रा दर्शनको व्यवहारिक प्रयोगमा गएका रहेछन् । एटम बम बनाउँदा अमेरिकाका वैज्ञानिक गीता र महाभारतमा घोत्लिने रहेछन् । हामीहरू बढी राजनीतिक र धार्मिक बहसमा मात्र रमायौं । सम्पदा र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न पछि प¥यौं । संस्कृत भाषालाई हाम्रो सम्पदा हो भन्न भूल्यौं । यसलाई साम्प्रदायिक हेयको रूपमा हे¥यौँ । यसको एउटा परिणाम हाम्रा विद्यार्थी र सन्ततिमा समेत सुन्ने र मनन् गर्ने संस्कृति भएन । हाम्रो समाजमा त्यतैतिर ढल्केको छ । कतै हाम्रो जीवन पनि नन्सेन्स हुँदै सेन्स्लेस्तिर त धकिलिएको छैन ? कसले कसरी सोच्ने, ठेगान भएन । हाम्रो भावी नेतृत्व पनि यही समाजबाट नै आउने हो । सीताको उत्पत्ति भएझैं जमिनबाट आउने पनि होइन, स्वयम्भू जस्तै कमलको फूलबाट पनि आउने होइन न त देवदूतझैँ आकाशबाट नै आउने हो । योग्यता र हैसियत अनुसारको नेतृत्व जन्मन्छ । आज हाम्रा सन्तानलाई पनि जता हुल छ त्यतै पठाउँछौँ । जुन कोचिङ सेन्टरमा विद्यार्थीको ठूलो हुल त्यही कोचिङ पढ्न पठाउँछौँ । सकेसम्म शिक्षकहरूलाई चियागफको व्याकबाइटिङको विषय बनाउँछौँ । सम्मान गर्नेलाई सम्मान गर्न छोड्यौँ ।

हाम्रो संस्कृतिभन्दा भिन्न अंगे्रजी भाषा विज्ञापनको भाषा बन्यो । ज्ञानको भाषा बनेन । कराउन, चिच्याउन र चलचित्र हेर्न सिकायो । संस्कृत ज्ञानको भाषालाई पाठ्यक्रममा राखिएन । संस्कृतको श्लोक भनेर पछि त्यसको अर्थ भनेमा मानिसहरू ध्यान दिएर सुन्छन् । यो चेतनाको भाषा हो भन्ने पनि बुझेनन् । न त हामी आज आफ्नो मनलाई सोध्छौँ । न त समालोचनात्मक रूपमा सोच्ने गर्दछौँ । घरमा गीताको पुस्तक हुन्छ, ढोग्छौं । घरमा रामायणको पुस्तक हुन्छ, पूजा गर्छौं । घरमा वेदको पुस्तक हुन्छ, त्यसलाई पनि पूजा गर्छौं । ओपनहाइमर बनेनौँ । आइन्स्टाइन पनि बन्ने साहस पनि गरेनौँ । किन आज लामो समयसम्म नयाँ नेपालको कुरा उठ्दा नयाँ नेपाल बन्न सकेन ? किन आज असल योजनाविद्ले असल योजना दिन सकेनन् ? किन राष्ट्रसेवक नेपाली जनताका सेवक बनेनन् ? शासक नै हुँ भन्ने मान्यताबाट बदलिन सकेनन् ? किन विश्लेषक यो दुनियाँका सत्रु र तारो बने ? किन वर्तमान शिक्षा जीवनको आधार बन्न सकेन ? किन हजारौँ युवायुवतीको रोजाई विदेश हुन थाल्यो ? किन देश विकास र सम्वृद्धिका संवाहकहरू नै उग्रराष्ट्रवादन्मुख हुन थालेका छन् ? यस्ता प्रश्नहरूको उत्तर अनुत्तरित भएको छ ।

संस्कृति कि विकृति ?

मैले संस्कृत सबैले पढ्नै पर्छ भनेको पनि होइन । तर पढ्दा यसले नैतिकता, मान्यता र सदाचार पक्कै सिकाउँछ । संस्कृत पढेर र पढाएर आध्यात्मिक नै हुनुपर्छ भन्ने छैन । संस्कृतका केही पुस्तकहरू नेपाली र अंग्रेजीमा पनि उल्था भएका रहेछन् । किन आज हाम्रा कक्षाकोठामा पसेनन् ? आज हाम्रो पूर्वीय दर्शन गीतामा भनिएझैँ संसारलाई नाश गर्न सक्ने ओपनहाइमरको एटम बमको स्रोत बन्यो । एटम बमको आविष्कार गर्ने ओपनहाइमरले पनि पूर्वीय दर्शन राम्रोसँग पढेको कुरा उनको जीवनी पढ्दा थाहा पाउन सकिन्छ । त्यसैले मैले महसुस गरेको कुरा के हो भने हामीसँग पूर्व पश्चिमाहरू आदर्शवान र स्वच्छ नागरिक बनाउनमा असफल रहेका छन् । उनीहरू डिप्रेशनको सिकारमा छन्् । वर्तमान शिक्षा र विचार स्वदेशिहिनता रहेको छ । आज नेपालीहरू गाईभैंसीको दुध बेचेर महङ्गा रक्सी खाने किन भए ? कोदो र भटमास बेचेर चाउचाउ र चटेपटे किन प्यारा चिज भए ? आज हामी हुन छोडेर उनीहरू भइरहेका छौं । आज हामी विश्वव्यापीकरणमा छांै । पुस्तकहरू इ–पुस्तक भएका छन् । शिक्षकहरू रोवर्ट शिक्षक भएका छन् । हामी जे पनि लिन मात्र खोज्छौं । दिन केही पनि खोज्दैनौं । ज्ञानको स्रोत गुगल भएको छ । अरुको जिनले बच्चा जन्मेका छन् । रगतको नाता हराइसकेको छ । उत्तरआधुनिकतावादको दबदबा रहेको छ । व्यक्तिवाद हावी भयो । समग्रतावाद हरायो । भौतिकवाद मौलायो । यथार्थवाद अल्मलियो । पदार्थवाद र चेतनावादमा पश्चिमाको भयो । एकिकृत मानवतावादको खडेरी पर्यो ।

पूर्वीय दर्शन छ जसमा धेरै ज्ञान छ, पश्चिममा विज्ञान छ । हाम्रो ज्ञान पुस्तकमा मात्र भयौं । संस्कारमा देखिएन । सभ्यतामा देखिएन । न त शरावी बन्न आवश्यक छ । उद्यमी नबनेर चियागफमा दिन बिताउन आवश्यक छ । कर्म नगर्ने तर कुरा मात्र गर्ने बानी भयो । सर्वसाधारणले चासो राख्ने विषय भनेको सार्वजनिक सेवाको वितरण हो । सेवा वितरणका खास मान्यता र सिद्धान्त रहेका छन् । जसलाई अवलम्बन गरेर सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् । त्यहाँ पनि समस्याले ग्रसित छन् । प्रत्येक वर्ष पारदर्शीता र सेवा प्रभावकारिताका नारा सार्वजनिक प्रशासकहरूले नै ल्याउँछन् । कसको लागि भन्दा आफ्नै लागि । सेवाग्राही पनि वर्तमान परिवेशमा पूर्ण रूपमा नकारात्मकताबाट निर्देशित भएको देखिन्छ । एउटा कार्यालयको निजामती कर्मचारी नै स्वयम् सेवाग्राही भएर अर्को कार्यालयमा गएमा ठूलो सास्ती व्यहोरेको कुरा व्यक्त गर्छन् । नैतिकता र सदाचारलाई कानुनसँग समन्वय गरेर राज्यले नै कठोर इच्छा शक्ति प्रदान गर्न कसले रोक्यो । राज्य सञ्चालनका महत्वपूर्ण तहबाट नै यसको आरम्भ गर्न कसले छेक्यो ?

कानुनको कार्यान्वयनमा तत्परता, संस्थागत प्रयास र सामाजिक अभिमुखीकरण महत्वपूर्ण हुन्छ । जनतालाई तुरुन्त उजुरी गर्न सक्ने आँटमा पु¥याउनु किन खोजिएन ? आज समाजमा सकारात्मकता, सिर्जनात्मकता, सहिष्णुता र सदाचारिताको विस्तार र वितरण लुक्न थाल्यो । कलिला मष्तिस्कमा पनि विद्यालयमा शिक्षकलाई अपमान गरे ठूलो भइन्छ भन्ने कुरा घरबाट सिकाउन थालियो । यो पुस्ता उर्जाशील, उत्पादक बन्न सकेन । शारीरिक श्रम गर्नेको खिसी गर्न थाले । शिक्षामा व्यापार बढ्यो । शैक्षिक उन्न्नयनबाट नै जीवन र मुलुकको समुन्नति हुने कुरा जसले जसलाई बुझाउन पर्ने हो बुझाएनन् । शिक्षा क्षेत्रलाई राजनीतिक थलोको रूपमा विकास गर्न थालियो । निश्चित स्वार्थ समूहको हातमा नियन्त्रण रहन थाल्यो । पाठ्यपुस्तक लेखनमा प्रतिस्पर्धाको वातावरण एकदमै कम भयो । हामी पूर्वीय दर्शनका हिमायती हौं । हाम्रो दर्शनमा बुद्धको अहिंसा र शान्तिको सन्देश छ । यसमा ज्ञान, विज्ञान, कला, साहित्य र दर्शन रहेको छ । व्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउनमा सहयोग गर्छ । आत्मानुभूति गराउँछ । यात बुद्धका चार आर्य सत्य हुन् या त अष्ठमार्ग, सबैले जीवन र जगतको शान्तिको सन्देश प्रदान गरेका छन् । यसले दुःख छ । बुझ भन्छ ।

उपसंहार

अहिले नेतामा नीति खोज्नुपर्ने भो । डाक्टरमा उपचार खोज्नुपर्ने भो । शिक्षकमा ज्ञान खोज्नुपर्ने भो । पूजारीमा धर्म खोज्नुपर्ने भो । विद्यार्थीमा अनुशासन खोज्नुपर्ने भो । कर्मचारीमा विनम्रता र पारदर्शीता खोज्नुपर्ने भो । सुरक्षाकर्मीमा रक्षा खोज्नुपर्र्ने भो । सन्तानमा माया खोज्नुपर्ने भो । बाबुआमामा कर्तव्य खोज्नुपर्ने भो । पालोमा धैर्यता खोज्नुपर्ने भो । उपकार, संयम, पवित्रता, शुद्धता भन्ने कुरा एकादेशका कथा बन्न थाले । असत्यबाट सत्यमा पुग्न कठिन भयो । अन्धकारबाट प्रकाशमा पुग्न कठिन भयो । भ्रष्टाचारले जताजतै जरा गाड्यो । स्वदेशी मौलिक शिक्षा खोज्नु पर्ने भो । हाम्रो शिक्षामा वेद, उपनिषद, गीता, त्रिपिटक, रामायणहरू हाम्रा पाठ्यक्रमका विषयवस्तु बनेनन् । देवऋण, पितृऋण र गुरुऋणको मूल्य नै थाहा भएन । वृद्ध आश्रमको संख्या बढ्दै गयो । पश्चिमा मर्मलाई घोकाइमा ढालियो । अझै पनि एकपटक सोचौं न । संस्कृत पनि गाऔं । संस्कार पनि बचाऔं ।

(लेखक अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा कार्यरत शिक्षक हुन् ।)

प्रकाशित मितिः   २३ माघ २०७६, बिहीबार ०५:०४