थारु भाषाको साहित्य श्रृंखलाको सुरुवात

सुर्खेत : थारु भाषाको साहित्य लोप हुँदै गइरहेकोले भाषा साहित्य बचाउन सुर्खेतमा साहित्यिक श्रृंखला सुरु गरिएको छ । बुधवार पहिलो पटक वीरेन्द्रनगरमा थारु साहित्य श्रृंखलाको आयोजना गरिएको हो । वीरेन्द्रनगर–१० नयाँगाउँमा रहेको कर्णाली प्रदेश थारु होमस्टेमा लखागीन साहित्य सुर्खेतले कार्यक्रमको आयोजनामा गरेको हो । जङ्ग्रार साहित्यिक बखेरीको उप–शाखाको विस्तार गरी सुर्खेतमा थारु साहित्य श्रृंखला चलाउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।

भाषा लोप भए पहिचान मर्ने भएकाले यसप्रति बौद्धिक वर्गले ध्यान दिनुपर्ने बताउँदै यसको संरक्षण सम्वद्र्धन गर्नका लागि नियमित श्रृंखला चलाउनु परेको थारु साहित्यिक संयोजक मानबहादुर चौधरी पन्नाले बताए । कार्यक्रममा नागरिक मञ्च कैलालीका संयोजक दिलबहादुर चौधरी, जङ्ग्रार साहित्यिक बखेरी केन्द्रीय संयोजक सोम डेमनडौरालगायत सुर्खेत थारु स्रष्टा जेवी डेमनडौरा, रामकृष्ण चौधरी, सन्तोष चौधरीले गजल वाचन गरेका थिए । कार्यक्रममा थारु युवा सभाका केन्द्रीय उपाध्यक्ष पवनकुमार थारुले थारु भाषा बचाउन एक्लैले सम्भव नभएकाले सामूहिक लाग्नुपर्ने बताए । थारु कल्याणकारी सभाका अध्यक्ष बेचुलाल चौधरीले थारु भाषा र संस्कृति पहिचानसँग जोडिएकोले यो कार्य स्वागतयोग्य भएको बताए ।

प्रकाशित मितिः   २३ माघ २०७६, बिहीबार ०५:०१