बजारमा महंगीयो सुन, किन्ने भन्दा पुरानो साट्ने धेरै

DSC05381गीता थापा
सुर्खेत, ८ भदौ ।
हिन्दु धर्म मान्ने महिलाहरूको पर्व तीज नजिकिंदै गर्दा वीरेन्द्रनगर– ८ ईत्राम निवासी मोनीका रोकाय गहना पसलमा पुगिन् । तीजमा सुनका नयाँ गहना लगाउने धोको पूरा गर्न भन्दै सुन पसलमा पुगेकी उनी सुनको भाउ सुनेर दंग परिन् । अन्ततः साथमा भएको पैसाले नयाँ गहना नआउने भएपछि उनी नकिनेरै फिर्ता भइन् ।
नयाँ गहना लगाउने रहर पूरा नभएपछि मोनीकाले नयाँ उपाय लगाइन् । अर्को दिन आफूसँग भएको पुरानो तिलहरी लिएर सुन पसलमा पुगिन् । पुरानो गहनासँग साटेर नयाँ मंगलसुत्र लिइन् । गहना पसलमा भेटिएकी उनले भनिन्, ‘अहिले त सुनको भाउ छोइसक्नु छैन, हामीले नयाँ सुनका गहना किन्नु त अब सपना मात्रै भयो । रहर पूरा गर्न पुरानो तिलहरी साटेर नयाँ मंगलसूत्र बनाएँ ।’ तीजमा छिमेकका सबै महिलाहरूले सुनका नयाँ गहना लगाउने भएकाले मोनीका पनि त्यही धोको पूरा गर्ने दाउमा थिइन् । तर बजारमा महंगीएको सुन किनेर नयाँ गहना लगाउने उनको धोको पूरा हुन पाएन ।
वीरेन्द्रनगर–१२ नेवारे निवासी कौशिला खड्कालाई पनि तीजमा नयाँ गहना लगाउने रहर थियो । उनले यसपालीको तीजमा नयाँ सुनको औंठी लगाउने रहर बोकेकी थिइन् । त्यही रहर बोकेर सुनचाँदी पसलमा पुगिन् । तर, सुनको भाउ सुनेर उनी छक्क परिन् । आफूसँग भएको रूपैयाँले नयाँ औंठी नआउने भएपछि उनी पनि पुरानो गहना साट्न तयार भइन् । उनले भनिन्, ‘घरबाट नयाँ औंठी किनुँला भनेर आएकी थिएँ, सुनको भाउ महंगो रै’छ । पैसा नपुगेपछि पुरानो तिलहरीसँग नयाँ औंठी साटें ।’ आफूसँग भएको पुरानो गहना दिएर नयाँ औंठी लगाउने कौशीलाको रहर होइन, तर तीजको नाममा उनको बाध्यता बन्यो । मोनीका र कौशीला त केबल प्रतिनिधि पात्र मात्र हुन् । आउँदै गरेको तीजमा सुनका नयाँ गहना लगाउने र दौतरीसँग गहना टल्काउँदै नाच्ने धेरै महिलाहरूको रहर यसपाली तुहिन पुगेको छ । कारण बजारमा सुनको भाउ महंगीएको छ ।
बजारमा अहिले सुनको भाउ तोलाको ६० हजार भन्दा माथि पुगेको छ । मनमा रहर भएर पनि मध्यमस्तरको आर्थिक अवस्था भएकाहरूले नयाँ गहना किन्न सक्ने अवस्था छैन । जसले गर्दा यसपालीको तीजमा धेरै महिलाहरूको नयाँ गहना लगाउने रहर अधुरै रहन पुगेको छ । भाउ महंगो भएकै कारण बजारमा सुनको कारोबार पनि कम छ । अघिल्ला वर्षहरूको तुलनामा यसपाली तीजको अवसरमा सुनको कारोबार कम भएको व्यवसायीहरूले बताएका छन् । सुनको भाउ महंगो भएकै कारण व्यापार पनि घटेको व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ताराप्रसाद कौशल भन्छन्, ‘अघिल्लो वर्षको तीजमा सुनको भाउ सस्तो हुँदा व्यापार पनि राम्रै थियो, यसपाली भाउ महंगीएको छ । महंगो भएपछि ग्राहक पनि धेरै आएका छैनन्, आए पनि नयाँ किन्ने भन्दा पुरानो गहना साट्नेहरू आउँछन् । अन्य चाडपर्वमा भन्दा तीजमा नै सुनको व्यापार धेरै हुने गर्दछ । तर यसपाली साचेको जस्तो कारोबार नभएको व्यवसायीहरूको भनाइ छ । उनले थपे, ‘पहिले तीजमा दिनमा पाँच लाखसम्मको व्यापार हुन्थ्यो, अहिले त दिनमा मुस्किलले ९० हजारसम्मको व्यापार हुन्छ ।’
यस्तै सुनचाँदी व्यवसायी संघका जिल्ला उपाध्यक्ष रिमलाल विश्वकर्माले अहिलेको तीजमा सुनको व्यापार सोचे जस्तो नभएको बताए । अन्य चाडपर्वमा भन्दा धेरै तीजमा सुनको व्यापार हुने गरे पनि यसपालीको तीजमा भने सुनको भाउ महंगीदा व्यापार कम भएको उनको भनाइ छ । उनले भने, ‘पोहोर सालको तीजमा दिनमा १२ लाखसम्मको व्यापार हुन्थ्यो, अहिले त दिनमा चार लाखसम्म पनि धौ–धौ हुन्छ ।’ उनले नयाँ गरगहना किन्ने भन्दा पनि पुरानोसँग साट्ने धेरै आउने गरेको बताए । सुर्खेतका सबै सुनचाँदी पसलमा दैनिक रूपमा आधा किलो सुन बिक्री हुने गरेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । संघका अनुसार हाल जिल्लाभर दैनिक २४ लाख मूल्य बराबर सुनको कारोबार हुने गरेको छ । दैनिक रूपमा २४ लाखको कारोबार भए पनि अघिल्ला वर्षको भन्दा यसपाली एकदमै कम व्यापार भएको व्यवसायीहरूको गुनासो छ ।

प्रकाशित मितिः   ९ भाद्र २०७३, बिहीबार ०४:३४