ऐन संशोधन गर्ने प्रतिबद्धता

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई स्थानीय स्वास्थ्य ऐन–२०७६ लाई संशोधन र छुटेका विषयलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको नगरपालिकाको स्थानीय स्वास्थ्य ऐन–२०७६ को समीक्षा कार्यक्रममा बोल्दै नगर प्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

संघीय तथा प्रदेश सरकारले निमार्ण गर्ने स्वास्थ्य ऐनसँग नबाँझियोस् भनेर वीरेन्द्रनगरको क्षमता अनुसार स्वास्थ्य ऐन निर्माण गरिएको चर्चा गर्दै उनले ऐनमा देखिएका कमी–कमजोरी र त्रुटिहरूलाई सुधार गर्ने बताए । प्रमुख सुवेदीले नागरिकलाई सहज र सुलभ ढङ्गले स्वास्थ्य सेवा उपलब्ध गराउने गरी ऐन संशोधन गर्न वीरेन्द्रनगर तयार रहेको पनि उल्लेख गरे । समीक्षा कार्यक्रममा आएका सुझावहरू मननयोग्य भएको बताउँदै प्रमुख सुवेदीले ऐनले समेट्न नसकेका स्वास्थ्यका समस्याहरूलाई कार्यविधि र नियमावलीमा प्रमुखताका साथ समावेश गर्ने जानकारी दिए ।

वीरेन्द्रनगर कार्यपालिका सदस्य डण्ड विकले वीरेन्द्रनगरमा बसोबास गर्ने निम्नवर्गको, स्वास्थ्य सेवामा पहुँच पुग्ने गरी ऐन संशोधन गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा वीरेन्द्रनगरका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले समीक्षामा आएका सुझावहरूकै आधारमा ऐन संशोधन र नियमावली निर्माणमा लाग्नुपर्ने बताए । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालका पूर्व डीन पीताम्बर ढकालले वीरेन्द्रनगरको स्थानीय स्वास्थ्य ऐन–२०७६ को पुनरावलोकन विषयक कार्यपत्र प्रस्तुत गरेपछि सहभागीहरूले ऐनमा भएको त्रुटि, समेट्न नसकिएका विषय लगायतका बारेमा सुझाव दिएका थिए ।