हर्षित छन् स्याउ कृषक

मुगु : हिमाली जिल्ला मुगुमा कृषकलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो सुरु भएको छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फूल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले कृषकले हरेक हिउँदमा स्याउका बोट काँटछाँट गर्ने गरेका छन् । हिउँदको बेला अर्थात् पालुवा र कोपिला पलाउनु अगावै स्याउका बोटमा निस्किएका बाक्ला हाँगा, अनावश्यक देखिएका हाँगाबिँगा काट्नु पर्ने भएकाले किसान स्याउका बोटबिरूवाको काँटछाँटको चटारोमा देखिन्छन् । स्याउका बिरुवा काँटछाँट नगरेमा बोट पनि अस्वभाविक हुने, बढी फलेर साना दाना लाग्ने, लाइ किरा, धमिराजस्ता किरा लाग्ने तथा अन्य रोगको प्रकोपसमेत फैलन सक्ने भएकाले कृषकले स्याउका बगैंचामा रहेको बोटबिरुवाको अनिवार्य काँटछाँट गर्नुपर्ने कृषि विज्ञहरू बताउँछन् ।

विगतका वर्षमा जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषकहरूको स्याउको बिरुवा काँटछाँट गर्न प्राविधिक खटाइने गरेको भए पनि यो वर्ष प्राविधिक खटाइएको छैन । किसानले आफैं प्राविधिक खोजी स्याउ बिरुवाका काँटछाँट गर्ने गरेका कृषि विकास कार्यालय मुगुले जनाएको छ । ‘विगतमा स्याउ काँटछाट लगायत अन्य काम गर्न बजेट आउने र काम गर्न पनि सजिलो हुन्थ्यो । संघीय संरचनासँगै काम गर्ने शैली फेरिएको छ । किसानहरूको हितमा काम गर्न सकेका छैनौं’ कृषि विकास कार्यलय मुगुका प्रमुख केवी रोकायाले भने ‘किसानहरूको हितमा काम गर्ने कृषि कार्यालयमा सडक को काम गर्नुपर्ने बाध्यता रहेको र जिल्ला कृषि विकास कार्यालयबाट किसानहरूले पाउने बिउँबिजन र औषधि पनि संघीय संरचनापछि पाउन छाडेका छन् ।’

अहिले समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाभर स्याउको उत्पादन १५ मेट्रिक टन भएकोमा आर्थिक वर्ष २०७५÷०७६ मा ३५ मेट्रिक टन स्याउ मात्र उत्पादन भएको थियो । यो वर्ष पनि समयमै हिमपात भएको छ । स्याउ फूल फुलेर दाना लाग्ने बेला असिना पानी नपरे यो वर्ष पनि स्याउको उत्पादन राम्रै हुने कृषि विकास कार्यालय मुगुले जनाएको छ । मुगु जिल्लाका स्याउ पकेट क्षेत्र जिल्लाका ताल्चा, बाम, रोवा, खमाले, सेरी, श्रीकोटलगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिएको छ ।

प्रकाशित मितिः   २१ माघ २०७६, मंगलवार ०५:०५