वामदेव गौतम अब नेकपाको उपाध्यक्ष

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य वामदेव गौतम अब वैधानिक रूपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पूरा गरिएको हो । कतिपय केन्द्रीय कमिटी सदस्यहरूले उपाध्यक्ष पद राख्ने हो भने सबै कमिटीमा राखिनुपर्ने माग गरेका थिए । तर तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय पारित भएको केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।

केन्द्रीय कमिटी बैठकले सर्वसम्मत् रूपमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको प्रचार विभाग उप–प्रमुख सूर्य थापाले बताए । विधान संशोधनसँगै उपाध्यक्षका काम, कर्तव्य र अधिकार पनि व्यवस्थित गरिएको उनले जानकारी दिए । यसैबीच अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गर्न नेकपाले कार्यदल गठन गरेको छ । पार्टीभित्रै एमसीसीमा चर्को विवाद भएपछि केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल निर्माण गरेको छ । खनालको नेतृत्वमा स्थायी कमिटी सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् । एमसीसीबारेमा अध्ययन गर्न निर्माण गरिएको कार्यदलले आवश्यक सुझाव संकलन र अध्ययनपछि १० दिनभित्रमा नेतृत्वलाई प्रतिवेदन दिनेछ ।

प्रकाशित मितिः   २० माघ २०७६, सोमबार १०:४४