रनिङ्गशिल्डमा जनमावि प्रथम
सुर्खेत : वीरेन्द्रनगरमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा जन नमूना माध्यमिक विद्यालय प्रथम भएको छ । वीरेन्द्रनगर शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा तीन दिन सञ्चालन भएको रनिङ्गशिल्डमा जनमाविले नौ स्वर्ण, नौ रजत र ६ कास्यपदक हासिल गर्दै प्रथम भएको हो । त्यस्तै एओएस हर्मन माईनर विद्यालय दोस्रो, अमरज्योति नमूना माध्यमिक विद्यालय तेस्रो भएको छ भने सैनिक आवासीय माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गरेको नगर शिक्षा शाखाका प्रमुख उप–सचिव ललितविक्रम सिंहले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः २५ हजार, २० हजार, १५ हजार र १० हजार रूपैयाँ नगद पुरस्कार समेत प्रदान गरिएको छ । प्रतियोगितामा वीरेन्द्रनगरका सामुदायिक र संस्थागत गरी १७ वटा माध्यमिक विद्यालयलहरू सहभागी भएको वीरेन्द्रनगर नगर कार्यपालिका सामाजिक संयोजक यमुना नेपालीले जानकारी दिइन् । उनका अनुसार भलिबल, कबड्डी, हाईजम्प, लङ्गजम्प र सटफूट लगायतका खेलहरू प्रतियोगितामा समावेश गरिएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरका सम्पूर्ण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै सबै क्षेत्रको विकासका लागि स्थानीय तह लागिपरेको बताए । नगरपालिकाले शिक्षा सम्बन्धीको नीति र रणनीति समेत तयार पारिरहेको प्रमुख सुवेदीको भनाइ छ ।
प्रकाशित मितिः २० माघ २०७६, सोमबार १०:४३
साझा बिसौनी ।