रिक्सा चलाएर स्वरोजगार बन्दै महिला

सुर्खेत : वीरेन्द्रनगर–१२ की कल्पना सिंहको कुनै रोजगारी थिएन । दिनभरी घरमै बस्नुपर्दा उनलाई दिक्क लाग्थ्यो । श्रीमान् नेपाल प्रहरी भए पनि उनको मात्रै कमाईले परिवार पाल्न मुस्किल थियो । दैनिकी गुजराको बाटो खोजिरहेकै बेला वीरेन्द्रनगर–१२ को वडा कार्यालयमार्फत वीरेन्द्रनगर नगरपालिकाले महिला स्वरोजगार कार्यक्रम लागू गर्न लागेको उनले जानकारी पाइन् । उक्त कार्यक्रम अन्तर्गत अटोरिक्सा सञ्चालन सम्बन्धी तालिमको लागि उनले आवेदन फारम भरिन् । फलस्वरूपः उनले तीन महिनाको तालिम लिए पश्चात् नगरपालिकाले दिने दुई लाख रूपैयाँ अनुदान समेत प्राप्त गरिन् ।  ‘आज मलाई धेरै खुशी लागेको छ’ उनले भनिन् ‘बेरोजगार बस्दा दिक्क लाग्थ्यो । रोजगारीको बाटो नगरपालिकाले देखाइदियो ।’ अब आफ्नै व्यवसायबाट आम्दानी बढाउने सोच गरेको कल्पनाले बताइन् ।
वीरेन्द्रनगर नगरपालिकाकी निर्मला सेडाइले समेत अटोरिक्साको लागि अनुदान प्राप्त गरेको ५ महिना भयो । उनी त्यो भन्दा पहिले गृहिणीको रूपमा घरमै काम गर्थिन् । श्रीमान् समेत चालक पेसामा संलग्न भएकोले सेडाइलाई यो पेसामा आउन सहज भयो । यसको लागि वीरेन्द्रनगर नगरपालिकाले पुलको काम ग¥र्यो । अहिले दिनमा एकहजार भन्दा बढी कमाउने गरेको निर्मलाले बताइन् । ‘बिहान छोरा–छोरीलाई विद्यालय पठाएर आउँछु’ उनले भनिन् ‘जेनतेन दिनमा हजारदेखि १५ सयसम्म कमाइ भएको छ ।’ बालबालिकालाई विद्यालय पठाएर दिनभरी अटो चलाउँदा आफूलाई राम्रै कमाई भएको सेडाइले बताइन् । ‘सबैभन्दा ठूलो कुरा पैसा रै’छ’ उनले थपिन् ‘आफूसँग रोजगारी भयो भने पारिवारिक हिंसाको अन्त्य हुँदो रै’छ ।’ समाजका मान्छेहरूले समेत पैसा भए मात्रै माया र सम्मान गर्ने उनको अनुभव छ ।

कल्पना र निर्मलाजस्तै १३ जना महिलाहरूलाई २६ लाख लगानी गरी वीरेन्द्रनगर नगरपालिकाले अटो व्यवसायमा जोडेको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । उनले महिला स्वरोजगार कार्यक्रममार्फत महिलाहरूलाई आत्मनिर्भर गराउनको लागि यो बाहेक अन्य धेरै तालिमहरू सञ्चालन गर्दै आएको जानकारी समेत दिए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले दुई वर्षसम्मको लागि महिलाहरूलाई फिर्ता गर्ने गरी विना ब्याज एक लाख र एक लाख फिर्ता गर्न नपर्ने गरी रकम प्रदान गरिएको जानकारी दिए । अनुशासित ढङ्गले अटो चलाएको खण्डमा मात्रै यो शर्त लागू हुने उनले बताए । पहिलो चरणमा आठ जना महिलालाई अटोको लागि अनुदान वितरण गरिएको र दोस्रो चरणमा पाँच जनालाई अटोको लागि अनुदान वितरण गरिएको उनले बताए । अटो खरिद गरी आइतवार नै वीरेन्द्रनगर नगरपालिकाले हस्तान्तरण समेत गरेको छ ।

प्रकाशित मितिः   २० माघ २०७६, सोमबार १०:४२