कर्णाली प्रदेशसभाको स्थापना दिवसमा खेलकुद

सुर्खेत : कर्णाली प्रदेशसभाले आफ्नो पहिलो स्थापना दिवस मनाउने भएको छ । स्थापना दिवसको अवसरमा खेलकुदका कार्यक्रम आयोजना गरिने भएको हो । प्रदेश सभा तीन वर्ष प्रवेश गर्न लागे पनि औपचारिक रूपमा पहिलो पटक स्थापना दिवस मनाउन लागिएको उप–सभामुख पुष्पा घर्ती मगरले जानकारी दिइन् । उनले प्रदेशसभाको स्थापनाको अवसरमा विभिन्न खेलकुदका कार्यक्रमहरू समेत गरिने बताइन् । २०७४ माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको थियो । ‘हामीले प्रदेश सभा स्थापना भएको दिनलाई भव्य रूपमा मनाउने गरी तीन दिने कार्यक्रम राखेका हौं’ दिवस मूल समारोह समितिको उपाध्यक्ष रहेकी उनले भनिन्, ‘भोलि बिहानैबाट खेलकुदका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।’ उनका अनुसार स्थापना दिवसको अवसरमा ब्याडमिन्टन, कुर्सी दौड, घैंटो फोड्ने खेल खेलाइनेछ ।

ब्याडमिन्टनको उद्घाटन खेल सभामुख राजबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलबीच आइतवार बिहान सात बजे प्रदेशसभा प्राङ्गणमा हुँदैछ । खेलमा सरकारका मन्त्री, प्रदेश सभाका सदस्यहरू, संसद् सचिवालयका कर्मचारीहरूको सहभागिता रहनेछ । १९, २० र २१ गते तीन दिने कार्यक्रम गरिने जनाइएको छ ।
यस्तै दोस्रो दिन अर्थात् माघ २० गते ११ बजेदेखि तीन बजेसम्म संघीयताका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रमका लागि कर्णाली प्रदेशका तीन सय भन्दा बढी व्यक्तिलाई निम्तो पठाइएको सचिव जीवराज बुढाथोकीले जानकारी दिए । २१ गते शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरिएको र उक्त कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्यार्थी, शिक्षकलगायतको सहभागिता रहने उनको भनाइ थियो । सोही दिन तीन सय १० पृष्ठको स्मारिका र प्रदेशसभा सदस्यहरूको परिचय खुल्ने पुस्तकको विमोचन हुने जनाइएको छ ।

प्रकाशित मितिः   १९ माघ २०७६, आईतवार ०९:०५