हिंसा अन्त्यका लागि आत्मनिर्भरतामा जोड

सुर्खेत : महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भए महिलाहिंसा अन्त्य हुने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शनिवार वीरेन्द्रनगरको १० नम्बर वडा कार्यालयले आयोजना गरेको लैङ्गिक विभेद तथा महिलाहिंसा न्यूनीकरण सम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै सहभागी शान्ति पोख्रेलले महिलाहिंसा अन्त्यका लागि आर्थिक रूपमा समृद्ध हुनुपर्ने बताइन् । ‘समाजमा हिंसाका थुप्रै रूपहरू देखेकी छु’ उनले भनिन् ‘हिंसा हुनुको कारण आर्थिक अपनत्व नहुनु हो ।’ पुख्र्यौली सम्पत्तिमा महिलाहरूको पहुँच नहुनु नै हिंसाको कारण बन्ने उनले बताइन् । पोख्रेलले स्थानीय तहले महिलाहरूलाई हिंसा न्यूनीकरण सम्बन्धी तालिमको साथ–साथै सीपमूलक तालिमहरूको आयोजना गर्नुपर्ने बताइन् ।

सहभागी मीना मल्लले समेत महिलाहरू अर्थतन्त्रसँग जोडिनुपर्ने बताइन् । उनले समाजले महिलालाई दोस्रो दर्जाको रूपमा हेर्नुको कारण सम्पत्तिको स्वामित्व नभएको भन्दै यसमा स्थानीय तहले सोच्नुपर्ने बताइन् । कार्यक्रममा सहभागी अधिकांशले महिलाहरू आर्थिक रूपमा सक्षम भएमात्रै हिंसा अन्त्य हुने बताएका थिए ।

प्रकाशित मितिः   १९ माघ २०७६, आईतवार ०९:०४