जनशक्ति नहुँदा प्रयोगशाला प्रयोगविहीन
सीता वली,
सुर्खेत : भेरीगंगा नगरपालिका–११ की पुष्पा वलीलाई उपचारको लागि स्वास्थ्यचौकी रामघाटमा धाइरहनुपर्छ । सामान्य रुघाखोकी लागेको बेलामा त उनले सहज सेवा पाउने गरेकी छन् । तर ‘ल्याब टेस्ट’ गराउनुपर्ने अवस्थामा भने उनलाई कि छिन्चु या त गुर्भाकोट नगरपालिकाको मेहेलकुना अस्पताल पुग्नुपर्छ । घर नजिकैको स्वास्थ्यचौकीमा आवश्यक पूर्वाधार नहुँदा उनले यस्तो समस्या व्यहोर्नु परेको हो । अन्य सेवा राम्रो भए पनि प्रयोगशाला नहुँदा आफूहरूले सास्ती व्यहोर्नुपरेको उनले बताइन् । ‘रामघाट स्वास्थ्यचौकीबाट अन्य सेवा राम्रो पाएकी छु’ उनले भनिन् ‘तर प्रयोगशाला नहुँदा निकै सास्ती भएको छ ।’
यस्तै भेरीगंगा नगरपालिका–१३ का तपेन्द्र बुढा पनि उपचारको लागि स्वास्थ्यचौकी नियमित नै पुग्ने गर्दछन् । तर प्रयोगशाला नहुँदा पुष्पाले जस्तै उनले पनि दुःख पाएको गुनासो गरे । पुष्पा र तपेन्द्रजस्तै यस क्षेत्रका नागरिकहरूले स्वास्थ्यचौकीमा आवश्यक पूर्वाधार नहुँदाको समस्या भोगिरहेका छन् । त्यसो त स्वास्थ्यचौकीमा प्रयोगशालाको सामग्री नै नभएको पनि होइन । तर कर्मचारी नहुँदा सेवा प्रवाह हुन सकेको छैन । आर्थिक वर्ष २०७५÷०७६ मा कर्णाली प्रदेश सरकारले स्वास्थ्यचौकीको प्रयोगशालाको लागि सामग्री प्रदान गरे पनि कर्मचारी अभावमा प्रयोगशाला प्रयोगविहीन भएको छ । स्वास्थ्यचौकी रामघाटका प्रमुख कृष्ण रावतले जनशक्ति अभावकै कारण ल्याव सञ्चालनमा ल्याउन नसकिएको जानकारी दिए ।
स्थानीय तहले कर्मचारीको व्यवस्थापन गर्ने र प्रदेश सरकारले सामग्री प्रदान गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार गत वर्षको असारमा सामग्री खरिद पनि गरियो । ‘प्रयोगशालाको लागि ल्याइएको सामग्री नै प्रयोग गर्न नमिल्ने अवस्थामा पुग्न थालिसके’ उनले भने ‘तर नगरपालिकाले कर्मचारी अझै पठाएको छैन ।’ प्रयोगशालाको कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेको उनले बताए । दिनमा २५ जना भन्दा बढी सेवाग्राही स्वास्थ्यचौकीमा उपचारका लागि आउने गरेका छन् । सेवाग्राहीको चाप बढ्दै गइरहेको छ । तर प्रयोगशालाको कर्मचारी अभावमा सेवामा अप्ठ्यारो भएको प्रमुख रावतले बताए ।
भेरीगंगा नगरपालिकाले महिनाको १५ हजार पारिश्रमिक दिनेगरी एकजना कर्मचारीको व्यवस्था गर्ने निर्णय गरेको स्वास्थ्यचौकीले जनाएको छ । निर्णय भए पनि कार्यान्वयन भने हुन सकेको छैन । नगरपालिकाले हालसम्म पनि ल्यावका लागि आवश्यक कर्मचारी पठाएको छैन । नगरपालिकाकी उप–प्रमुख रेणु आचार्यले भने आफूहरूलाई यस विषयमा जानकारी नै नभएको बताइन् । ‘स्वास्थ्यचौकीले मनोमानी ढङ्गले हामीलाई समन्वय नगरी सामग्री मगाएको होला’ उनले भनिन् ‘हामीले कर्मचारी दिनेगरी निर्णय पनि गरेका छैनौं ।’ तर आवश्यक परेको खण्डमा कर्मचारी सहयोग गर्ने उनले बताइन् ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले सुर्खेत लगायतका दुई जिल्लाका पाँच वटा स्वास्थ्यचौकीमा प्रयोगशालाको सामग्री प्रदान गरेको बताए । उनले गत आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा कर्णाली प्रदेशले जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतमार्फत प्रयोगशालालाई सुदृढीकरण गर्ने उद्देश्यले सामग्री वितरण गरेको थियो । प्रदेश सरकारले सामग्री वितरण गर्ने र स्थानीय तहले कर्मचारीको व्यवस्था गर्नेगरी सहमति भएको उनले जनाए । सोही अनुसार कार्यालयले ल्यावका लागि आवश्यक सामग्री स्वास्थ्यचौकीलाई पठाएको हो ।
सुर्खेत र दैलेखको पाँच वटा स्वास्थ्यचौकीहरूका लागि १२ लाख बजेट प्रदान गरिएको वाग्लेले बताए । उनले प्रयोगाशाला सञ्चालन हुन नसकेका स्वास्थ्यचौकीबाट सहमतिमै सामग्री ल्याई प्रयोगशाला सञ्चालन भएका स्थानमा दिनेगरी तयारी भएको समेत जानकारी दिए । सुर्खेतका भेरीगंगा नगरपालिका, सिम्ताको बजेडीचौर स्वास्थ्यचौकी, बराहतालको पोखरीकाँडा स्वास्थ्यचौकी, पञ्चपुरीको विद्यापुर स्वास्थ्यचौकी र दैलेखको एउटा स्वास्थ्यचौकीमा उक्त रकम बराबरको सामग्री वितरण गरिएको उनले बताए ।
प्रकाशित मितिः १८ माघ २०७६, शनिबार ०५:०६
सीता वली ।