गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध पक्राउ पूर्जी

दैलेख : जिल्लाको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरसहित चारजनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले प्रहरीलाई अनुमति दिएको छ । माघ १३ गते जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा नौमूले गाउँपालिका–५ का कृष्ण सलामीमाथि अभद्र व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय दैलखमा परेको थियो । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँपालिकाका अध्यक्ष मगरसहित चारजनालाई पक्राउ गर्न अनुमति दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

हतियारसहित गएर कृष्ण सलामीलाई अभद्र व्यवहार गरेको भन्दै कृष्ण सलामीका दाइ गणेश सलामीले उजुरी दिएका थिए । गणेशको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नैनबहादुर सावदले बताए । अध्यक्ष मगरसहित गणेश थापा मगर, कपिल सिंह र छविलाल राम्जालीलाई अनुमति दिइको हो । उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरी परेपछि गणेश थापा मगर, कपिल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष मगर र राम्जाली भने फरार रहेको उनले बताए बताए ।
प्रमुख जिल्ला अधिकारी कट्टेलले कानुनलाई हातमा लिन खोजेर अनैतिक कार्य गर्ने जो–कोहीलाई पनि कानुनी कठघरामा ल्याउन प्रशासनको दायित्व रहेको बताउँदै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको बताए ।

प्रकाशित मितिः   १८ माघ २०७६, शनिबार ०५:०५