स्ववियु निर्वाचन अनिश्चित

mu ko naya officeसाझा बिसौनी संवाददाता
सुर्खेत, ८ भदौ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्वनिर्धारित भदौ ८ गतेको निर्वाचन मिति सारेर १३ गतेलाई तोकेसँगै निर्वाचन नै अनिश्चित बनेको हो । कहिले निर्वाचन गर्ने भन्ने विषयमा अहिले विद्यार्थी सङ्गठनहरू नै विभाजित भएका छन् ।
निर्वाचन मिति सारे लगत्तै विभिन्न चार वटा विद्यार्थी सङ्गठन त्यसको विरोधमा उत्रिए । अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अखिल छैठौंले १३ गते हुने निर्वाचनमा भाग नलिने घोषणा गरे । विद्यार्थीहरूलाई सहमतिमा ल्याउन विश्वविद्यालयले मंगलवार मात्रै दुई पटक विद्यार्थी सङ्गठनका केन्द्रीय नेतृत्वहरूसँग छलफल गरेको छ । तर दुई वटै बैठक निश्कर्षविहीन भएर टुङ्गिएका छन् । चार वटा प्रमुख विद्यार्थी सङ्गठनहरूले नै निर्वाचन बहिष्कार गरेपछि नयाँ मिति तोक्नका लागि विश्वविद्यालयले उनीहरूसँग छलफल गरेको थियो । तर विद्यार्थी सङ्गठनहरू नै नयाँ मिति तोक्ने विषयमा एकमत हुन सकेनन् ।
छलफलका क्रममा अन्य सङ्गठनहरू भदौ १३ गते निर्वाचनमा जान तयार भए पनि नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले त्यसमा असहमति जनाएको थियो । एक दिन अगाडि सारेर भदौ १२ गते निर्वाचन गर्न अखिल क्रान्तिकारी लगायत अन्य सङ्गठन सहमत भए पनि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनले नमान्दा सहमति जुट्न नसकेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । विद्यार्थी सङ्गठनका केन्द्रीय प्रतिनिधि तथा विश्व–विद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लसहितको बैठकले सहमति जुटाउन नसकेपछि पुन छलफल गरी मिटि टुंगो लगाउने जनाइएको छ ।
यसैबीच भदौ ८ गतेका लागि तोकिएको स्ववियु निर्वाचन समयमै गराउन असफल भएपछि निर्वाचन समितिका संयोजक गणेशकुमार कार्कीले राजीनामा दिएका छन् । उनले मंगलवार नै राजीनामा दिएका हुन् । यद्यपि राजीनामा स्वीकृत भने भइसकेको छैन ।