रेन्जर कार्यालयको आफ्नै भवन, भाडामा बस्नुपर्ने समस्या ट¥यो

IMG_20160821_140629साझा बिसौनी संवाददाता
सुर्खेत, ५ भदौ ।
वर्षौं भयो, अर्काको घरमा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेको । आफ्नै भवन नहुँदा भाडाको घरमा खुम्चिएर बस्नुपर्ने बाध्यता । सरकारी कार्यालय भए पनि आफ्नै भवन नहुँदा न कर्मचारीलाई काम गर्न सजिलो थियो, न त सेवाग्राहीले नै चाहे अनुसारको सुविधा पाएका थिए । भाडाको घरबाटै कार्यालयको काम जेनतेन चलाउन कर्मचारीहरू बाध्य थिए ।
कार्यालय स्थापना भएदेखि नै भाडाको घरमा बस्दै आएको इलाका वन (रेन्जर) कार्यालय घारीमेहेलकुनाको अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ । करिब ५० लाख रूपैयाँको दुई तले पक्की भवन पाएपछि त्यहाँ कार्यरत कर्मचारीहरू खुशी बनेका छन् । यस्तै गाउँमै सुविधायुक्त रेन्जर कार्यालयको भवन बनेपछि स्थानीय बासिन्दामा खुशीको सीमा नै छैन । जिल्ला वन कार्यालयको सहयोगमा गाउँमै इलाका वन कार्यालयको भवन निर्माण भएको खुशीयाली साट्न आइतवार त्यस क्षेत्रका बासिन्दा कार्यालयमा जम्मा भएका थिए ।
सुर्खेतमा हाल १२ वटा इलाका वन कार्यालयहरू छन् । तर अहिले पनि सात वटा कार्यालयहरू भाडाको घरबाटै सञ्चालन भइरहेका छन् । आफ्नै भवन नहुँदा इलाका वन कार्यालयहरू काफलकोट, साटाखानी, गुमी, लेखगाउँ, गुटु, बासपानी र हरिहरपुर भाडाको घरबाट सञ्चालन भइरहेका छन् । केही कार्यालयहरू द्वन्द्वको क्रममा भत्काइएको र केही कार्यालयहरू स्थापनाकालदेखि नै बजेट अभावमा भाडामा बस्दै आएको जिल्ला वन कार्यालयले जनाएको
छ । सहायक जिल्ला वन अधिकृत सूर्यप्रसाद शर्माले पाँच वटा इलाका वन कार्यालयको मात्र आफ्नै भवन रहेको बताए । उनका अनुसार इलाका वन कार्यालय मेहेलकुना, छिन्चु, वीरेन्द्रनगर, बड्डीचौर र बावियाचौरको मात्र आफ्नै भवन छन् । उनले भने, ‘आफ्नै भवन नहुँदा सेवा प्रवाहमा पनि समस्या छ, अब हामीले अन्य कार्यालयको लागि पनि भवन माग गरेका छौं । आफ्नै भवन भएपछि जनताले पनि सहज रूपमा सेवा पाउनेछन् ।’
हालै निर्माण भएको इलाका वन कार्यालय घारीमेहेलकुनाको नवनिर्मित भवनको आइतवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । मध्यपश्चिम क्षेत्रीय वन निर्देशक राजबहादुर राउतले उक्त भवनको उद्घाटन गरे । भवनमा कार्यालय र थुनुवा कक्षसमेत रहेको छ । सो अवसरमा क्षेत्रीय वन निर्देशक राउतले भने, ‘वन सबैको धन हो, यसको सुरक्षा सरकारबाट मात्र सम्भव छैन । त्यसका लागि समुदायले नै पहरेदारी गर्न जरुरी छ, वन रह्यो भने धनका लागि भौंतारिनुपर्ने छैन ।’ पछिल्लो समय वन अतिक्रमण र आगलागी मुख्य चुनौती रहेको भन्दै उनले वन संरक्षणका लागि उपभोक्ताहरू नै जुट्नुपर्ने बताए । स्रोत र साधनको अभावमा वन कर्मचारीहरूले जनतालाई सेवा दिनुपर्ने बाध्यता रहेको भन्दै उनले विस्तारै अन्य कार्यालय भवनहरू निर्माण हुने आश्वासन दिए ।
जिल्ला वन अधिकृत हेमराज विष्टले आफ्नै भवनमा कार्यालय सञ्चालन भएपछि सेवा प्रवाहमा पनि सहज हुने बताए । आफूहरू जनताको घरदैलोमा सेवा पु¥याउनका लागि परेको बताउँदै उनले भने, ‘हामी सबै इलाका वनको भवन बनाउने अभियानमा छौं, आफ्नै घरमा बसे जस्तो भाडामा बस्दा हुँदो रहेनछ । आफ्नै घर बनेपछि अब सेवामा पनि सुधार आउनेछ, सेवाग्राहीले पनि सुविधा पाउनेछन् ।’ जिल्लाको वन संरक्षणका लागि सामुदायिक वनहरूको भूमिका महŒवपूर्ण रहेको भन्दै उनले अब समुदाय नै वन संरक्षणमा अग्रसर हुनुपर्ने बताए । यस्तै इलाका वन कार्यालय घारीमेहेलकुनाका इन्चार्ज कपिल ढुङ्गानाले अब भाडाको घरमा खुम्चिएर बस्नुपर्ने समस्याबाट मुक्ति मिलेको बताए । साँघुरो ठाउँमा बस्दा जनतालाई सेवा दिन समेत कठिन भएको स्मरण गर्दै उनले अब त्यो समस्या टरेको भन्दै खुशी व्यक्त गरे ।
यसैबीच सोही अवसरमा जुनियर वन प्राविधिक संघ सुर्खेतले आफ्नो स्थापना दिवस मनाएको छ । संघले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा इलाका वन कार्यालय परिसरमा विभिन्न जातका बिरुवा रोपिएको छ । यस्तै भवन निर्माणमा सहयोग गर्ने संघ–संस्था र सामुदायिक वनलाई सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला भू–संरक्षण कार्यालयका शिवराम अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती, सहायक वन अधिकृत सूर्यप्रसाद शर्मा, वन कार्यालयका गणेश थापा लगायत स्थानीय सामुदायिक वनका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   ६ भाद्र २०७३, सोमबार ०९:४४