सम्पत्तिका लागि आमाको हत्या
जाजरकोट, ५ भदौ ।
सक्ला–१ जाजरकोटका बुद्धिबहादुर खत्रीले मुआब्जाको लोभमा आफ्नै आमाको हत्या गरेको रहस्य खुलेको छ । बहुचर्चित नलगाड जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा वितरण गर्न सुरु गरेपछि ६५ वर्षीया आमा देउमती खत्रीको हत्या योजना बुनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । गएको साउन २१ गते राती बुद्धिबहादुरले देउमतीको हत्या गरी खाडलमा पुरेका थिए ।
हत्या गर्नुभन्दा अघिल्लो दिनमा नै खाडल खनी तयार पारेको बुद्धिले बयानका क्रममा बताएका छन् । बुद्धिले योजनाबद्ध रूपमा आमाको हत्या गरेको अनसुन्धानमा संलग्न प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । विद्युत आयोजनाको बाँध निर्माण स्थलसँगै जोडिएको लैखम गाउँ आयोजनाको अत्याधिक प्रभावित क्षेत्रमा पर्छ । त्यसक्षेत्रका नागरिकलाई मुआब्जा वितरणको काम सुरु गरिसकेको छ । आयोजनाले यसअघि पावर हाउस निर्माणस्थल खगेनकोट–१, दल्लीमा एक सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ ।
पछिल्लो चरणमा आयोजनाले सक्ला–१ लैखम, सक्ला–२ सेपुखोला, सक्ला–९ काप्तीका प्रभावित नागरिकलाई मुआब्जा दिने निर्णय गरिसकेको आयोजनाले जनाएको छ । आयोजनाले प्रतिरोपनी चार लाख ७५ हजार रूपैयाँका दरले मुआब्जा दिने सुनेपछि बुद्धि र उनको श्रीमती शर्मीलाको मनमा पाप जागेको बुद्धिले बताएको प्रहरी निरीक्षक बोहराले बताए । देउमतीको नाममा लैखममा एक रोपनी पाँच धुर जग्गा रहेको बुझिएको छ । सासुको नाममा रहेको जग्गा आफ्नो नाममा गराउन बुद्धिकी श्रीमती शर्मीलाले पटक–पटक दबाब दिने गरेकी बुद्धिले प्रारम्भिक बयानमा उल्लेख गरिसकेका छन् । देउमतीका श्रीमान्को केही वर्ष अघि मृत्यु भएपछि उक्त जग्गा उनका नाममा नामसारी गरिएको थियो । जग्गा शर्मीलाका नाममा गर्न देउमती राजी नहुने भएपछि उक्त हत्या योजना बुनिएको खुलेको छ । देउमतीका जेठा छोरा र बुहारीको समेत मृत्यु भइसकेको छ । जेठा छोरातर्फका नाती हाल भारतमा रहेको र नातिनी कोहलपुरमा बसेर पढिरहेको प्रहरीले जनाएको छ । देउमतीका नाममा रहेको जग्गा शर्मीलाका नाममा गराउन जिल्ला मालपोत कार्यालयमा पुगेका थिए । तर, मालपोत कार्यालयले अंशियार अरु पनि भएको अवस्थामा उनीहरूको सहमतीबीना नामसारी गर्न नमिल्ने बताएपछि उनीहरू रित्तै फर्किनु परेको थियो ।
कानुनी रूपमा जग्गा शर्मीलाको नाममा गराउन नमिल्ने भए पनि शर्मीलाले आफ्नो नाममा गराउन बुद्धिलाई दबाब दिदैं आएकी थिइन् । आमालाई मारेर भए पनि जग्गा आफ्नो नाममा गराउन शर्मीलाले बुद्धिलाई मानसिक यातना दिने गरेको अनुसन्धानमा खटिएका निरीक्षक सुवास भट्टले बताए । खाडलमा पुरिएको शवलाई प्रहरी निरीक्षक भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले शनिवार उत्खनन् गरेको थियो । शव सडिसकेको अवस्था भेटिएको भट्टले जनाए । शव अन्यत्र लिनसक्ने अवस्था नभएपछि प्राथामिक स्वास्थ्य केन्द्र दल्लीका चिकित्सकलाई लैखम बोलाएर पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए । हत्या अभियोगका बुद्धिबहादुर र उनकी श्रीमती शर्मीलालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
साझा बिसौनी संवाददाता ।