सुन्दर सहरको सानो तर असुन्दर पक्ष

dinesh (1)
दिनेश गौतम

वीरेन्द्रनगर बजार वरपरको सडकको स्थिति अत्यन्त लापरवाहीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । सडकमा ट्राफिक व्यवस्थापनका लागि केही प्रयास त भएको हो, जो देखिएको पनि कहीं कतै तर सडकमा हिँड्ने व्यक्तिलाई प्रभावकारी लागेकै छैन सायद । सडकमा हिँड्दा नागरिकहरू सवारीसाधनबाट तर्किएर हिँड्ने बाटो नै छैन । बजारमा निर्माण भइरहेका घरहरूको लागि घरवालाले आफ्ना सरसामान राख्नका लागि सडक प्रयोग गरिदिनाले आफैमा साँघुरो सडक अझैं साँघुरो बनिदिएको छ । सडक व्यवस्थापन सहज नहुँदा सवारी चलाउनेहरू तथा पैदल यात्रुहरू सबैले सास्ती व्यहोर्नु परेको छ ।
पाइपको लागि खाल्डा पार्ने, नपुर्ने ?
वीरेन्द्रनगर सहरको अधिकांश सडकमा खानेपानीको कामको लागि वा अन्य कुनै प्रयोजनको निमित्त खाल्डो पारिएको छ । व्यक्तिगत रूपमा स्वार्थ पूरा गर्ने अभिप्रायले सडकमा जथाभावी रूपमा वा जिम्मेवार निकायको अनुमति नलिएर खाल्डो पार्ने र आफ्नो काम पूरा भएपछि भने त्यसलाई पहिलेको जस्तै नबनाइ त्यस्तै हालतमा छाड्ने गलत प्रवृत्ति जुन देखिएको छ, यसले पनि सडक समस्या झन् जटिल बनाउने निश्चित छ । वीरेन्द्रनगरको लक्ष्मीहलको अगाडिको सडकमा त्यस्तै कारण बनेको एउटा खाल्डो विस्तारै ठूलो हुँदै गएको छ र अहिले सडक आवतजावतमा त्यसले निकै बाधा व्यवधान उत्पन्न गरेको छ । एक त त्यो सडक अत्याधिक व्यस्त हुने वा अझ भनौं व्यापारिक वर्गको पार्किङ्गस्थलको रूपमा प्रयोग हुँदै आएको छ भने त्यस्ता खाल्डाखुल्डीले झनै समस्या उत्पन्न गर्दै आएको सबैले देखेको, भोगेको कुरा नै हो । त्यहाँ मात्रै होइन वीरेन्द्रनगर मूल बजारका अधिकांश स्थलमा सडकमा खाल्डा पारिएको छ । वीरेन्द्रनगरभित्रकै बुद्धपथबाटै आइएमई निस्कने सडकमा त झनै छोटो सडकमा नै १० भन्दा बढी स्थानमा सडकमा खाल्डा पारिएको छ । कालोपत्रे गरिसकिएको सडक खाल्डो पार्दा त्यसले सडक दुर्घटनालाई बढाउने सक्ने तथा पैदलयात्रुहरूको आवतजावतलाई पनि अप्रत्यक्षरूपमा असर पार्ने ज्ञान हुँदाहुँदै त्यस वरपरका व्यक्तिहरू जो यसप्रकारका क्रियाकलापमा संलग्न छन् र ती व्यक्तिहरू जो यसतर्फको अशोभनीय हर्कत गर्नेलाई कारबाही गर्नसक्ने स्थानमा बसेका छन्, उनीहरू कोही पनि यसतर्फ सजग नहुनु विडम्वनाको कुरा हो । यसका साथै मिडियाहरू, वडामा देखिने राजनीतिक दलका व्यक्तिहरू, टोल विकास समितिहरू, त्यस्ता खाल्डो पारिएको सडक नजिकका व्यापारिक समुदायहरू तथा सचेत नागरिकहरूले यसतर्फ दबाबमूलक अभियान चाल्नु आवश्यक देखिन्छ । यसका साथै यसको मर्मत गर्नका लागि जिम्मेवार निकाय आफ्नो कामप्रति जिम्मेवार हुनुपर्ने देखिन्छ । त्यतिमात्र होइन, जसले यस्ता खाल्डाखुल्डी पार्छ, त्यस्तो व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने र त्यस्ता सडकको मर्मत गर्न पनि उनीहरूलाई नै लगाउने गरेमा त्यसपछि दिनमा यस किसिमको लापरवाही कम हुने निश्चित छ । सडकमा जथाभावी खाल्डो पारेर आफ्नै घर अगाडि पछाडिको सडकको अशोभनीय बनाउने वा दुर्घटनामा वृद्धि हुने किसिमको कुनै पनि गतिविधि नगर्ने प्रण त्यस वरपरका बासिन्दाहरूले गर्न सक्नुपर्दछ ।
बाटै रोकिने गरी व्यापार ?
वीरेन्द्रनगरको हटियाचौक नजिकै तरकारीको व्यापार गर्ने व्यक्तिहरूले सडकमै असर पर्ने गरी आफ्नो व्यापारिक सामानहरू राखिरहेका हुन्छन् । ठूला सवारीहरू आएको खण्डमा त त्यस्ता सवारीसाधनहरू सहज रूपमा आवत–जावत गर्नै नसकिने गरी आफ्नो निजी सामान राख्ने गर्नाले सडकमा व्यवधान उत्पन्न गरेको छ । अझैं साँझको समयमा मानिसहरू तरकारी किन्न उभिएको बेला त त्यो सडकमा मोटरसाइकल छिर्नेसम्म ठाउँ पाउन मुस्किल हुन्छ । त्यस्तो सडकको अवस्था बनाएर निजी लाभको लागि सार्वजनिक सडकको प्रयोग गर्नु पक्कै पनि जायज कुरा होइन । अझ दुःखको कुरा त के छ भने उनीहरूले जुन घरमा वा भवनमा व्यापार गरिरहेका छन्, त्यो सरकारी स्वामित्वको सम्पत्ति हो । सरकारी सम्पत्तिको प्रयोग गर्ने र सरकारी सम्पत्तिलाई नै हानी पुग्ने किसिमको गतिविधि गर्न मिल्छ ? यसतर्फ कसले ध्यान दिने ? जसले घर भाडामा लगाएको छ, त्यो निकाय मौन रहने ? ठूला–ठूला गाडीहरू छिर्न सक्ने गरी बनाइएको सडकमा मान्छे छिर्न समेत धौ–धौ हुने गरी निजी लाभको लागि सडक प्रयोग गर्ने ? जिम्मेवार निकाय र सरोकार राख्ने सम्पूर्ण व्यक्ति सबैको ध्यान जान जरुरी छ । बाटो नै अवरुद्ध गरेर व्यापारी गतिविधि गर्नु हुँदैन भन्ने आभाष सम्वद्ध व्यापारीलाई पनि हुन जरुरी छ ।
जतागयो उतै खाल्डा ?
व्यक्तिहरूले निजी प्रयोजनको लागि सडकमा खाल्डा पार्ने र त्यसबाट उत्पन्न समस्याको बारेमा माथि नै चर्चा भइसकेको छ । यहाँ चर्चा गर्न खोजिएको विषय के हो भने सडकमा प्राकृतिक कारणले बनेका साना–साना खाल्डाखुल्डीले पनि दुर्घटनाको समस्या निम्ताउनेमा कुनै दुईमत छैन । क्याम्पस रोडदेखि साल्ट ट्रेडिङ्ग नजिकसम्मको सडक देख्नासाथ सबैलाई थाहा भइहाल्छ कि सुर्खेतको सडकको अवस्था कस्तो छ भनेर । अझ विद्यार्थीहरूको अत्याधिक चहलपहल हुने क्षेत्र भएको ठाउँमा नै सडकको त्यो हदसम्मको दुर्दशा ? अनि यसको मर्मतको लागि चाहिँ कोही पनि जिम्मेवार नहुने ? त्यो सडक विगत दुई वर्षदेखि म देखिरहेछु, उही अवस्थामा छ । खाल्डो तर्काएर लैजाँदा खोलामा पर्ने डर छ, गलत साइडमा चलाउनुपर्ने बाध्यता छ । खाल्डोबाटै लैजाँदा पनि दुर्घटनाको घर छ । अनि कि त्यो सडकबाट सवारी साधनलाई चलाउनलाई रोक्न सक्नुपर्छ अन्यथा सवारी चलाउनेहरूले पूर्ण सुरक्षा अनुभूति गर्ने किसिमले सवारी चलाउने वातावरणको सिर्जना गर्न सक्नुपदर्छ । साथै त्यस्तो खतरा हुनसक्ने सडकमा पैदलयात्रीहरू पनि सुरक्षित यात्रा गर्न सक्ने किसिमको सडक हुनुपर्दछ । गुण्डागर्दीको आधारमा टेण्डर पार्ने, ठेकेदार कम्पनीसँग मिलेमतो गर्ने, ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउन नसक्नाले बिग्रिएर नाजुक अवस्थामा पुगेको त्यस्तो सडकको मर्मत तथा सम्भार गर्नुका साथै त्यस अवस्थामा पु¥याउन जिम्मेवार व्यक्तिहरूलाई कारबाहीको दायरामा समेत
ल्याउनुपर्दछ । त्यहाँ मात्र नभएर शनिहल लाइन, वीरेन्द्रचौक, एनसेल सेन्टर अगाडि, पुरानो राष्ट्रिय वाणिज्य बंैक भएको अगाडि, त्यस्ता सडकहरू जहाँ अन्य सडकभन्दा धेरै भीड हुन्छ, त्यसमा मर्मत तत्काल गर्न जरुरी छ । सडकको यस दुर्दशापूर्ण अवस्थालाई कुनै ध्यान नदिने र मात्रै सवारी दुर्घटनाका दुःखद् समाचार सुनेर वा पढेर मात्रै बस्नु जायज कुरा होइन ।
अन्त्यमा,
सडक फोरलेन बन्दैछ । प्रवेशद्वारहरू पनि बन्दै होलान्, बनाइएलान् तर जब वीरेन्द्रनगर बजारभित्र प्रवेश गरिसकेपछि सडकको स्थिति देखेर कसैले पनि त्यो फोरलेन सडकलाई हात्तीको देखाउने दाँत भन्ने स्थिति नआओस् । सुर्खेतको पर्यटनलाई प्रवद्र्धन गर्दै जाने भनिएको तथा प्रदेश नम्बर ६ को केन्द्रको रूपमा स्थापित हुँदै गएको यस विशाल वीरेन्द्रनगर क्षेत्र सानो सडकको समस्याको कारण बद्नाम हुने स्थिति आउनुहुँदैन र हामी कसैले पनि यस्तो स्थिति आउन दिनु पनि हुँदैन । यसतर्फ हरेक सचेत नागरिक, सरोकारवाला र जिम्मेवार व्यक्तिहरूको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   ६ भाद्र २०७३, सोमबार ०९:४०