सेनेटरी प्याड निःशुल्क

सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले नगरका सम्पूर्ण महिलाहरूका लागि निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम शुभारम्भ गरेको छ । नगर जनस्वास्थ्य शाखाको आयोजनामा शुक्रवार वीरेन्द्रनगर–१६ स्थित स्वास्थ्यचौकी सानिलेखबाट कार्यक्रमको शुभारम्भ गरिएको हो । मर्यादित महिनावारी र सरसफाइबारे सचेतना फैल्याउँदै उक्त कार्यक्रम शुभारम्भ गरिएको भन्दै वीरेन्द्रनगरका उप–प्रमुख मोहनमाया ढकालले अबको दुई महिनाभित्र नगरका सम्पूर्ण वडामा कार्यक्रम लागू गरिने जानकारी दिइन् । महिनावारीका बेला पर्याप्त सरसफाइ र नियमित महिनावारी नहुँदा स्तन क्यान्सर, पाठेघर क्यान्सर लगायतका गम्भीर प्रकृतिका रोगहरूबाट महिलाहरू पीडित हुने गरेको भन्दै उप–प्रमुख ढकालले यो अभियानको सुरु गरिएको बताइन् ।

सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क प्याड वितरण गरे पनि यसरी नगरका सम्पूर्ण महिलाहरूका लागि निःशुल्क प्याड वितरण गर्ने वीरेन्द्रनगर देशकै पहिलो नगर भएको उप–प्रमुख ढकालको दावी छ । उक्त अभियानले महिलाहरूलाई महिनावारी भएको बेला, स्वास्थ्य, सरसफाइ र स्वच्छताका बारेमा समेत खुलेर कुरा गर्ने वातावरण सृजना हुने उनको भनाइ छ । महिलामा हुने धेरै रोगको कारण महिनावारी सुस्तता रहेका तथ्य बाहिरिएको भन्दै उनले यो अभियानले छाउपडीजस्तो कुप्रथा समेत न्यूनीकरण हुने विश्वास व्यक्त गरिन् ।

गत नगर सभाबाट नै नगरपालिकाभित्र रहेका महिलाहरूका लागि मासिक महिनावारी हुँदा एक महिनामा एक महिलालाई एउटा प्रति निःशुल्क सेनेटरी प्याड वितरण गर्ने निर्णय गरिएअनुसार यो अभियानको सुरुवात गरिएको हो । महिनावारी कार्ड वितरण गरी नगरका प्रत्येक वडा स्वास्थ्य चौकीमार्फत वितरण गरिने छ ।

प्रकाशित मितिः   १८ माघ २०७६, शनिबार ०५:०२