क्रिस गेलले नेपाली लिग खेल्ने

काठमाडौं : वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट खेल्ने भएका छन् । साहिल अग्रवालको स्वामित्वमा रहेको पोखरा राइनोजले बिहीवार पत्रकार सम्मेलन गरी यसको घोषणा गरेको हो । पोखरा राइनोजले गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाएको थियो ।

इपिएलको तेस्रो सिजन चैतबाट सुरु हुँदैछ । गत सिजन पोखरा राइनोज लिगको पुछारमा रहेको थियो । गेल इपिएलमा खेल्ने चर्चा गत वर्ष पनि चलेको थियो । वेस्ट इन्डिजको टिममात्रै नभइ इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो विष्फोटक ब्याटिङबाट गेल निकै चर्चित बनेका थिए । गेलको नाममा सबैभन्दा छिटो शतकको कीर्तिमान छ । टी–२० मा सबैभन्दा धेरै रन बनाउने खेलाडी र आईपीएलमा एकै इनिङमा धेरै छक्काको कीर्तिमान पनि उनकै नाममा छ ।

प्रकाशित मितिः   १७ माघ २०७६, शुक्रबार ०५:००