रोहित चन्द थप दुई वर्ष पर्सिजामै

सुर्खेत : नेपाली मिडफिल्डर रोहित चन्द इन्डोनेसियाको माथिल्लो डिभिजनको क्लब पर्सिजा जकार्तासँग थप दुई वर्षे सम्झौता गर्न सहमत भएका छन् । रोहितका दाइ रविन्द्र चन्दले नयाँ अनुबन्धलाई पुष्टि गरे । ‘पछिल्लो सिजन सकिएलगत्तै पर्सिजाले तीन वर्षे सम्झौताको प्रस्ताव गरेको थियो । हामी दुई वर्षको लागि तयार भयौं र यसैमा सम्झौता गर्ने मौखिक सहमति भएको छ’ रविन्द्रले भने । सम्झौता–पत्रमा शुक्रवार हस्ताक्षर हुँदैछ ।

सन् २०१९ को सिजन सकिएलगत्तै पुस दोस्रो साता स्वदेश फर्किएका रोहित अस्ट्रेलियाको पाँच दिने भ्रमणपछि मंगलवार जकार्ता पुगिसकेका छन् । पर्सिजाले नयाँ सिजनको लागि ट्रेनिङ थालिसकेको थियो र रोहित बुधवारदेखि टिमसँगै प्रशिक्षणमा सहभागी भइसकेका छन् । त्यसअघि नयाँ प्रशिक्षक सर्जियो फारियसले रोहितको फिटनेस परीक्षण पनि गरेका थिए । उनलाई इन्डोनेसियाको सबैभन्दा प्रतिष्ठित प्रतियागिता ‘लिग वान’का अरु क्लबले पनि अनुबन्ध गर्ने प्रस्ताव गरेका थिए ।

रोहित पर्सिजाको ट्रेनिङमा फर्किएको भन्दै क्लबले बुधवार नै सामाजिक सञ्जालमा उनको फोटो पनि अपलोड गरेको थियो । फिटनेस परीक्षणको भिडियो पनि सार्वजनिक गरेको थियो । पीएसपीएस पेकनबरुमा आवद्ध हुँदै सन् २०१२ मा इन्डोनेसिया पुगेका रोहितलाई २०१३ मा पर्सिजाले भिœयाएको थियो । उनी २०१५ मा मलेसियन सुपरलिग क्लब टी–टिममा पुगे पनि घुँडाको शल्यक्रिया गरेपछि एक वर्ष बढी मैदानबाहिरै रहे । त्यसपछि पुनरागमन गर्दै उनी २०१७ मा पर्सिजामै अनुबन्धित भएका थिए । त्यसयता करिअरकै उत्कृष्ट लयमा देखिएका उनी पर्सिजा लिग वान २०१८ को च्याम्पियन हुँदा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

पर्सिजाले अघिल्लो सिजनकै लयलाई २०१९ मा कायम राख्न सकेन । पछिल्लो सिजन पर्सिजा ११ जित, ११ बराबरी र १२ हारको नतिजासँगै दसौं स्थानमा रह्यो । नतिजा र उपलब्धिको हिसाबले पर्सिजा २०१९ मा असफल नै भयो । यसबीच पनि रोहित क्लबको लागि सिजनमा सर्वाधिक पास (८६२) खेल्ने र सबभन्दा बढी
ट्याकल (१२७) गर्ने खेलाडी भए । उनले लिगमा ३४ मध्ये ३१ खेल खेल्दै २ गोल पनि गरेका थिए । उनको नयाँ अनुबन्ध १५ जनवरी २०२० देखि १४ जनवरी २०२२ सम्मको रहने बताइएको छ ।

२८ वर्षीय उनले २०६६ सालमा मछिन्द्र क्लबबाट करिअर सुरु गरेका थिए । अर्को सिजन नै भारतको आई लिग क्लब हिन्दुस्तान एरोनटिक्स लिमिटेडबाट झण्डै दुई सिजन खेलेपछि उनको गन्तव्य इन्डोनेसिया बन्यो । यसबीच उनलाई इंग्लिस प्रिमियर लिग क्लब आर्सनल र टोटेनहमको एकेडेमीले लिने हल्ला पनि चल्यो । २०१३ को अन्त्यतिर डेनमार्कको सुपरलिग क्लब भेस्जल्यान्डले ‘रिजर्व टिम’मा अनुबन्धको प्रस्तावलाई अस्वीकार गर्द उनी पर्सिजा फर्किएका थिए ।

प्रकाशित मितिः   १६ माघ २०७६, बिहीबार ०५:०८