आज सहिद दिवस

सुर्खेत : आज (बिहीवार) माघ १६ गते, सहिद दिवस । देश र जनताको हित तथा अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै छ ।
नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

यसैबीच कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सहिदहरूप्रति श्रदाञ्जली व्यक्त गरेका छन् । बुधवार श्रदाञ्जली सन्देश जारी गर्दै प्रमुख कलौनीले इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा देश र जनताको हितको खातिर लड्दैं आफ्नो अमूल्य जीवन बलिदान गर्ने ज्ञात÷अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।