दोस्रो कर्णाली एक्स्पो हुँदै

सुर्खेत : सुर्खेतमा दोस्रो कर्णाली एक्स्पो सञ्चालन हुने भएको छ । आउँदो फागुन ६ देखि १७ गतेसम्म कृषि, उद्योग, व्यापार, सांस्कृतिक महोत्सव–२०७६ सञ्चालन गर्न लागिएको हो । महोत्सवको आयोजना सुर्खेत उद्योग वाणिज्य संघले गर्न लागेको हो । प्रदेशमा उत्पादन हुने कृषि उत्पादनका साथै यहाँको उद्योग, व्यापार र सांस्कृतिक पक्षको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिए । यसका साथै संघले स्थापना गरेको अक्षयकोषमा रकम जम्मा गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको छ । विपद्मा परेका वा विभिन्न कारणले पलायन हुने अवस्थामा पुगेका व्यवसायीहरूलाई राहत र सहयोगका लागि संघले अक्षयकोष स्थापना गरेको छ । महोत्सवबाट हुने आम्दानीले उक्त अक्षयकोष वृद्धि गरिने जनाइएको छ । संघले कम्तीमा ५० लाख रूपैयाँसम्मको अक्षयकोष बनाउने र उक्त कोषबाट वर्षेनी ब्याज वापत आउने रकमबाट पीडितहरूलाई राहत तथा सहयोग गर्ने योजना बनाएको छ ।

महोत्सवमा अर्गानिक कृषि तथा उद्योग प्रवद्र्धनको लागि करिब ८० वटा स्टल राखिदैछ भने प्रदेशका १० वटै जिल्लाबाट अर्गानिक कृषि तथा जडिबुटी, लघुउद्यमीको उत्पादनहरू समेत प्रदर्शनीमा राखिने अध्यक्ष रावतले जानकारी दिए । महोत्सवमा उत्कृष्ट अर्गानिक कृषि उत्पादन र प्रविधि प्रदर्शनी गर्ने संघ–संस्था, कृषक समूहलाई पुस्कृत समेत गरिने उनले बताए । महोत्सवमा करिब पाँच सय अन्य व्यावसायिक स्टलहरू समेत रहने छन् । पाँच करोडको व्यावसायिक कारोबार हुने र तीन लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य संघले राखेको छ ।

प्रकाशित मितिः   १६ माघ २०७६, बिहीबार ०५:०३