स्मृति सुर्खेती सहिदको, बन्दना सरस्वतीको
विषय प्रवेश
प्रत्येक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाउने गरिएको छ । यस वर्ष भने सहिद दिवस र वसन्त पञ्चमी सँगै परेको छ । एकातिर सहिदको सम्झना गरी उनीहरूले लगाएको अमूल्य गुण र योगदान गाथाको सम्मान गर्ने दिन आज भने अर्कोतिर विद्याकी देवी सरस्वतीको बन्दना गर्ने दिन । यही सन्दर्भलाई यस लेखमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
कर्णाली प्रदेश प्राप्तीका सहिद चर्चा
राज्य पुनर्संरचना गर्ने क्रममा साविकको कर्णाली अञ्चललाई सुदूरपश्चिमसँग गाभिएको विरोधमा वि.सं. २०७२ सालको साउन–भदौमा सुर्खेती भूमिमा आन्दोलन भएको थियो । तत्कालीन कर्णाली प्रदेशका सबै जिल्लाहरू र भेरी अञ्चलका पनि केही जिल्लाहरूलाई सुदूरपश्चिमसँग जोडेर प्रदेशको सीमांकन गर्दा कर्णाली प्रदेशका जनतालाई प्रदेश सीमांकन चित्त बुझेको थिएन । जसको परिणामस्वरूप कर्णाली प्रदेशको प्राप्तीको लागि सुर्खेतमा १३ दिनसम्म आन्दोलन भएको थियो । सो आन्दोलनमा सहिद भएका सुर्खेतका यामबहादुर बि.सी., टीकाराम गौतम, गोपालसिंह रजवारको नाम सुर्खेती इतिहासमा कहिल्यै नमेटिने गरी स्वर्णाक्षरले पोतिएको छ । सोही आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर सहिद भएको इतिहास पनि त्यत्तिकै ताजा रहेको छ । हरिबहादुर कुँवरलाई कर्णाली आन्दोलनका प्रथम सहिद मानिन्छ । कर्णाली प्रदेशका यिनै सहिदहरूको स्मृतिमा एक पटक भदौ २२ गतेलाई कर्णाली प्रदशको सहिद बलिदान दिवसको रूपमा मनाउने कुरा पनि उठेको थियो । यसको पूर्ण कार्यान्वयन हुन त अझै बाँकी नै छ जस्तो लाग्छ । यसै गरी सुर्खेतकै भूमिमा वि.सं. २०६४ सालको निर्वाचनमा सुर्खेतको क्षेत्र नं. १ बाट तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भएका नेता ऋषिप्रसाद शर्मा हतियारधारीको आक्रमणमा परेर सहिद भए । सुर्खेतको एक अमर सहिदको रूपमा उनलाई लिन सकिन्छ ।
सहिदहरू निश्चय पनि व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको मुक्तिको लागि जीवन उत्सर्ग गरेका हुन्छन् । त्यसभन्दा अगाडि पञ्चायतको विरुद्धको लडाइँमा शिक्षक र विद्यार्थी आन्दोलन सँगै भएको थियो । जसमा सुर्खेतको दशरथपुरमा निरंकुश पञ्चायतका शासकहरूले परिवर्तनशिल योद्धाहरू ब्रहमदत्त तिवारी, इन्द्र वि.सी.,न्याउले कामी लगायत सात जना आन्दोलनकै क्रममा सहिद हुनुपरेको थियो । सुर्खेतमा सायद २०५४ सालतिर लेखफर्साको लेकमा गणेश न्यौपानो र डिला थापाको हत्या भएपछि गणेश न्यौपानेलाई तत्कालीन नेकपा माओवादीले सुर्खेतको जनयुद्धको पहिलो सहिद घोषणा गरेको थियो । दश वर्षको द्वन्द्वकालीन अवधिमा राज्य र विद्रोही पक्षबाट सुर्खेतमा धेरै जनाको हत्या भएको देखिन्छ । तिनीहरू मध्ये नेपाल सरकारले कतिलाई सहिदको सूचीमा राख्यो र कतिलाई राखेन, त्यो बहसको विषय होला । यसैगरी वि.सं. २०६६ साल माघ महिनामा ऋषि गौतम राहुलको अकस्मात सायद गाडीको ठक्करबाट मृत्यु हुन पुग्यो । वि.सं. २०६२÷०६३ को आन्दोलनमा सुर्खेती भूमिमा लोकतन्त्रको लडाईंमा ठूलो जनसागर उर्ले पनि अकल्पनीय मानवीय क्षति भएन ।
वास्तवमा समकालिन परिवेशमा देशको राष्ट्रिय स्वाधिनता र जनताको मुक्तिको लागि आफ्नो जीवन उत्सर्ग गर्ने र सुनौलो संसारको परिकल्पना गर्ने मानिसहरू देशका र जनताका सहिद हुन् । हाम्रो देशको राजनीतिक इतिहासलाई हेर्ने हो भने पनि नेपालको सबैभन्दा बढी शासकीय इतिहास बोकेको नेपाली कांग्रेस पार्टी राणा तथा पञ्चायतविरुद्धको आन्दोलन तथा जनताको मुक्तिको लागि लडाईं लड्ने क्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा झापा विद्रोह, दश वर्षे जनयुद्धका क्रममा शासकवर्गहरूले अभियन्ता सखाप पार्ने खेलमा हजारौँको हत्या गरी वीर वीरंगनाहरूको जीवन उत्सर्ग गराएको इतिहास छ । आजको वाक् स्वतन्त्रता, समावेशीता, समानुपातिक प्रतिनिधित्व, समानता, मानवअधिकार, सन्तुलित विकास र सामाजिक न्यायको बाटो जनताको संघर्ष र सहिदको योगदानबाट नै भएको हो । आज धेरै सहिद परिवारका सदस्यहरू शासन व्यवस्था सञ्चालन गर्ने ठाँउमा पनि छन् ।
कर्णाली प्रदेश सरकारको सहिदको सम्मानको संस्कार भने त्यति सुहाउँदो देखिदैन । प्रदेश प्राप्तीको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको स्मृतिमा प्रदेश राजधानी सुर्खेतको मुख्य चोकमा सहिद स्मारक निर्माण गर्ने कुरा एक पटक आएको थियो । कहिले सहिद प्रतिष्ठान बनाउने हल्ला पनि त्यत्तिकै आयो । उक्त सहिद प्रतिष्ठानमार्फत सामाजिक कार्यहरू गर्ने कुरा पनि आएको थियो । कार्य कहाँसम्म पुगेको छ त्यो त मलाई थाहा भएन । सहिद परिवारका समस्याको बारेमा पनि सरकार कति गम्भीर भएको छ सहिदका परिवारलाई परिचय–पत्र प्रदान गरी विशेष व्यवस्था गर्नु सान्दर्भिक हुन्छ जसले सहिदका आफन्तहरूले पनि आफू सहिद परिवारको भएको भनि गर्व गर्न सक्छन् । यसका अतिरिक्त सहिद परिवारको उपचार खर्च, अध्ययन खर्च, रोजगारी र पार्क समेत निर्माण गरी सम्मानको वातावरण बनाउनु उपयुक्त हुन्छ । यसलाई अलि सोचनिय विषयमा राख्नु उपयुक्त नै होला जस्तो लाग्छ । सहिदहरूको बलिदानीले कर्णाली प्रदेश प्राप्त भएको हो । सहिदहरूको सम्मान गर्नु प्रदेश सरकारको दायित्व पनि हो । आखिर सहिद किन भएका हुन ? सहिदको मूल्य कति हुन्छ ? के सहिद हुनु उसको नियति नै हो या मुलुकको आवश्यकता नै हो त ? के वर्षमा एकदिन फूलमाला लगाएर मात्र सहिदको सपना पूरा र सम्मान हुन्छ त ? के यतिको लागि मात्र सहिद भएका हुन् त ? यस्ता प्रश्नहरूको उत्तर शासन व्यवस्थाका सञ्चालकहरूले राम्ररी दिन सक्नुपर्छ । प्रदेश प्राप्तीको लागि भएको आन्दोलनमा भएका घाइते अपाङ्गहरूको माग सम्बोधन होस् । प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्छ । कर्णाली प्रदेश प्राप्तीको मुख्य देन सहिद र घाइते योद्धाहरूको हो ।
सुर्खेती भूमिमा मैले सुने र बुझे अनुसार नेपालमा कम्युनिष्ट पार्टीको स्थापनादेखि हालसम्म विभिन्न आन्दोलन र जनयुद्धमा समेत गरी कैयन जनाले सहादत प्राप्त गरेका छन् । सुर्खेती भूमिमा पनि सात सालको परिवर्तनदेखि पछिल्ला विभिन्न आन्दोलनहरूमा विभिन्न व्यक्तिहरू संलग्न भइ जीवन उत्सर्ग गरेका छन् । कसैको इतिहासको हिसाबकिताब भए होलान् कतिको त इतिहास नै भेटिएन होला । तर योगदान उनीहरू कै भएर आज हामी यो व्यवस्था र कर्णाली प्रदेशको राजधानीको रूपमा सुर्खेत जिल्लालाई पाएका छौँ ।
सम्झना सहिदको, आराधाना सरस्वतीको
आज माघ १६ गते । एकातिर जुनसुकै समयमा पनि देश र जनतको हितको लागि जीवनलाई आहूति दिएका सहिदको स्मृति गर्ने दिन भने अर्कोतिर परम्परागत धार्मिक संस्कारको मान्यता अनुरूप विद्या र ज्ञानकी देवी सरस्वतीको सम्झना पनि गर्ने दिन हो । सरस्वतीलाई संगीत, कला, साहित्य र विद्याकी खानी मानिन्छ । त्यसैले आजको दिन सरस्वतीको विधिपूर्वक पूजा पनि गर्ने गरिन्छ । आस्तिक विद्यार्थीको लागि यो सबैभन्दा महत्वपूर्ण दिन पनि हो । यस दिनमा नै साना बालबालिकाहरूलाई अक्षराम्भ पनि गराइन्छ । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्रमी, कामधेनु, वेदगर्भा नामले समेत स्मरण गर्ने प्रचलन रहेको छ । वीणा र पुस्तक धारण गर्ने देवी, श्वेत वस्त्र धारण गरेकी देवी, हाँसमा चढेकी देवीको रूपमा समेत पुकारिन्छ । यस दिन विद्यालयमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीको दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइन्छ । ऋतुहरूको राजा मानिने बसन्त ऋतुको आरम्भ पनि हुने भएकोले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्छ ।
सुर्खेतमा पनि सरस्वती पूजा धुमधामका साथ मनाउने गरिन्छ । सुर्खेतका मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत क्याम्पस शिक्षा लगायतका संस्थाहरूले पनि यस पर्वलाई महत्वपूर्ण तरिकाले मनाउने गर्छन् । यसैगरी कर्णाली प्रदेशकै लोकप्रिय विद्यालय अमरज्योति नमूना मावि, जन नमूना मावि, भैरव मावि, नेरा माविमा पनि धुमधामका साथ सरस्वतीको पूजा विधिपूर्वक गर्ने चलन रहेको छ । यसैगरी सुर्खेतका सयौँ विद्यालयका हजारौँ विद्यार्थीहरूले आजापूजा गर्ने गरेका छन् । सरस्वतीलाई बौद्ध धर्मालम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रूपमा ज्ञानको प्रतिक मानेर पूजाआजा गर्ने गर्छन् । हिन्दू परम्परा अनुसार यस दिन सरस्वती मात्र नभई गणेश, सूर्य, अग्नि, शिव आदि देवताको पूजा समेत गरिन्छ । सरस्वतीको मन्दिरमा वा अस्थायी मन्दिर स्थल निर्माण गरी दुध, दही, नौनी, धानको वाला, तिलको लड्डु, नरिवलको जल, मूला, वयर, बेल, अदुवा आदि नैवेद्यको रूपमा चढाउने पनि गरिन्छ । पवित्र आचरण र बुद्धिकी देवी पनि मानिन्छ । आरती गरिन्छ । पञ्चामृत र प्रसाद ग्रहण गरिन्छ ।
उपसंहार
संयोगले सहिद दिवस र सरस्वती पूजा गर्ने दिनसँगै परेको छ । सरस्वतीको वरदान र सहिदको योगदानले नेपाली वर्तमान राजनीति र प्रशासनको कुर्सीमा बस्ने शासकहरूको इमान, निष्ठा, नैतिकता, सत्चरित्रता, विवेक र बुद्धिमत्ताले काम गरोस् । वर्तमानमा देखिएको व्यक्तिगत स्वार्थ, पदलोलुपता, ढिलासुस्ती, बेइमानी, आदेशपालक मनोवृत्ति, सैताने प्रवृत्ति र भ्रष्टाचारी प्रवृत्ति पूरै हटोस् । सरस्वती जस्तै नेपाली आमाको सेतो वस्त्रमा दाग नलागोस् । सहिदको अवमूल्यन नहोस् । खोलो तरेर लौरो बिर्सने नेपाली ठालु प्रवृत्तिको फेरी पनि दिमाग पलाओस् । देशको लागि बलिदानी गर्ने सहिदको अमरत्व रहोस् । विभिन्न समयमा भएका परिवर्तनशिल आन्दोलनका सम्पूर्ण नेपाली तथा विशेष गरी सुर्खेती सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली ।
(लेखक अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा कार्यरत शिक्षक हुन् ।)
प्रकाशित मितिः १६ माघ २०७६, बिहीबार ०५:०२
ध्रुवकुमार अधिकारी ।