संयमता अपनाउ
कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षीय केशर सिंहको मंगलवार सडक दुर्घटनामा निधन भयो । मोटरसाइकलमा यात्रारत उनलाई टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनापछि मंगलवार दिनभर वीरेन्द्रनगर तनावग्रस्त बन्यो । आक्रोशित मृतकका आफन्तले बजार पूर्णरुपमा बन्द गराए । प्रहरी र आफन्तबीच केही झडप भयो । साँझ स्थानीय प्रशासनले कफ्र्यु नै लगाउनुप¥यो ।
कसैको ज्यान जाने गरी भएको दुर्घटना सामान्य होइन । मानवीय क्षति पूर्ती गर्न नसकिने क्षति हो । यस्तो क्षति बेहोरेका परिवार र आफन्त आक्रोशित हुनु पनि स्वभाविक हो । तर मंगलवार वीरेन्द्रनगरमा जुन अवस्थाको सिर्जना भयो त्यो भने अस्वभाविक थियो । आक्रोशले उग्र रुप लिएको थियो । पीडितलाई क्षतिपूर्ती र दोषिलाई कारवाहीको माग राखेर शान्तिपूर्ण आन्दोलन गर्न सकिने विकल्प हरेकसँग हुन्छ । शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न वा अधिकार माग्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । यसको सदुपयोग हरेक नागरिकले गर्न सक्दछन् । तर शान्तिपूर्ण रुपमा गर्न सकिने विकल्प हुँदाहुँदै उग्र बनाउनुले न पीडितलाई फाइदा गर्छ न समस्याको समाधान हुन्छ । यसले थप अरुलाई पनि विनाकारण दुःख मात्रै दिन्छ ।
मंगलवार वीरेन्द्रनगरमा देखिएको दृष्य स्वभाविक किनपनि देखिएन भने केही युवाहरु लाठी बोकेर जवरजस्ती बजार बन्द गराउँदै हिंडेका थिए । पूर्व सूचनाविना एक्कासी गरिएको बन्द आह्वानमा जबरजस्ती गर्नु उचित पक्कै हुँदैन । त्यसमाथि सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याएर हुने लाभ पनि केही होइन । आक्रोशित जमातले वीरेन्द्रनगरका कतिपय सार्वजनिक सम्पत्तिमा क्षति पुर्याए । सडक छेउमा राखिएका फोहोर व्यवस्थापन गर्ने डस्टिविनदेखि, ट्राफिक चिन्ह र प्रहरी बिटमा क्षति पुर्याइएको छ । कस्तोसम्म दृष्य देखियो भने केही युवाहरु पोलमाथि चढेर सीसी क्यामेरामा क्षति पुर्याउन उद्यत थिए । यसरी सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएर होइन शान्तिपूर्ण रुपमै समस्या समाधान गर्नेतर्फ संयमित भएर लाग्नु उपयुक्त हुन्छ ।
मृतकका आक्रोशित आफन्तहरुभन्दा बढी संयमित स्थानीय प्रशासन हुन जरुरी छ । घटना भएपछि तत्कालै आफन्तसँग समन्व्य गरेर समस्या समाधान गर्तेतर्फ ध्यान दिनुपर्नेमा प्रशासनले ढिलाई गर्दा अवस्था तनावग्रस्त बनेको हो । दोषीलाई कारबाही नगरेसम्म सडकबाट शव नउठाउने अडान लिएका आफन्तलाई मनाउनतर्फ जोड दिनुपर्नेमा पीडितको आक्रोश व्यवस्थापनमा प्रहरी संयमित भएन । बल प्रयोग गरी शव उठाइयो । अवस्था झ बिग्रियो । अन्ततः स्थानीय प्रशासनले कफ्र्यु नै लगाउनुपर्यो । दुवै पक्षले संयमता अनपाएर संवादमार्फत समाधान समाधानतर्फ ध्यान दिएको भए जुन अवस्था सिर्जना भयो त्यो पक्कै हुने थिएन ।
प्रकाशित मितिः १६ माघ २०७६, बिहीबार ०५:००
साझा बिसौनी ।