उद्यमशीलता तथा नेतृत्व सम्मेलन हुने

सुर्खेत : सुर्खेतमा पहिलो पटक उद्यमशीलता तथा नेतृत्व सम्बन्धी सम्मेलन अर्थात् कर्णाली एन्टेरप्रेनेयूर एण्ड लिडरसीप समिट आयोजना हुने भएको छ । ‘समृद्ध कर्णाली, बलियो कर्णाली’ भन्ने मूल नाराका साथ समिट आयोजना गरिदैंछ ।

यही माघ २८ र २९ गते हुने समिटमा कर्णालीका दश जिल्लाबाट युवाहरूको सहभागिता रहने आयोजक संस्था कर्णाली सञ्चार नेटवर्कले जनाएको छ । कर्णालीका आर्थिक र राजनीतिक सम्भावनालाई प्रवद्र्धन तथा प्रचार–प्रसार गरी युवाहरूलाई नेतृत्वकर्ता र उद्यमशील बनाउन यो कार्यक्रम गर्न लागिएको कार्यक्रम प्रमुख डम्मर साहुले बताए । उनका अनुसार सम्मेलनको पहिलो दिन राजनीतिक तथा सामाजिक विषयमा पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, मन्त्री, विज्ञ र दलका नेताहरूसँग छलफल गरिने छ ।

दोस्रो दिन मुलुकका प्रतिष्ठित व्यापारी, उद्योगी र निजी क्षेत्रका अगुवाहरूसँग छलफल गरिने जनाइएको छ । कर्णालीका उत्कृष्ट उद्यमीहरूलाई उनीहरूको व्यावसायिक मनोबल बढाउन र युवालाई पनि व्यवसायमा आकर्षित गर्न अवार्ड र व्यावसायिक योजना प्रदान गरिने छ ।

प्रकाशित मितिः   १४ माघ २०७६, मंगलवार ०५:०२