कर्मचारीलाई प्रोत्साहन भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारी र चिकित्सकहरूलाई प्रोत्साहन भत्ता दिने भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले जिल्ला र तह हेरेर कर्मचारी तथा चिकित्सकहरूलाई भत्ता दिने निर्णय गरेको हो । जिल्लागत रूपमा चिकित्सकको तह हेरी प्रोत्साहन भत्ता दिन लागिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले बताइन् । उनका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लाका लागि फरक–फरक किसिमले प्रोत्साहन भत्ता तोकिएको हो । सुर्खेत जिल्लामा आउने एघारौं तहको विशेषज्ञ चिकित्सकका लागि सुरु तलबको ७५ प्रतिशत प्रोत्साहन दिइने उनले बताइन् ।

त्यस्तै दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानका लागि ९० प्रतिशत, कालिकोट र जुम्लाका लागि १०० प्रतिशत र हुम्ला, डोल्पा र मुगुका लागि एक सय ३५ प्रतिशत प्रोत्साहन भत्ता सरकारले तोकेको केसीले बताइन् । त्यस्तै नवौं÷दशौं तहका विशेषज्ञ चिकित्सकको लागि सुर्खेतमा ७५ प्रतिशत दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानको लागि ८० प्रतिशत, कालिकोट र जुम्लाको लागि ९० प्रतिशत र हुम्ला, डोल्पा र मुगुको लागि एक सय २५ प्रतिशत रहेको उनले जानकारी दिइन् ।
आठौं तहको लागि सुर्खेत जिल्लामा ५० प्रतिशत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानको लागि ६० प्रतिशत, कालिकोट र जुम्लाको लागि ७५ प्रतिशत र हुम्ला, डोल्पा र मुगुको लागि एक सय प्रतिशत प्रोत्साहन भत्ता दिइने भएको हो । प्रोत्साहन भत्ता वितरण गर्दा चिकित्सकको सुरुको तलब स्केल अनुसार दिइने उनले बताइन् ।

सरकारले अन्य निजामती कर्मचारीको हकमा भने मासिक रूपमा केही रकम दिने गरी व्यवस्था मिलाइएको छ । सुर्खेतमा आउने कर्मचारीलाई मासिक चार हजार, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखमा जाने कर्मचारीलाई मासिक ६ हजार, कालिकोट र जुम्लामा जाने कर्मचारीलाई मासिक आठ हजार तथा डोल्पा, मुगु र हुम्लामा जाने कर्मचारीलाई मासिक १० हजारका दरले प्रोत्साहन भत्ता दिइने छ । बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री केसीले कर्णालीलाई समृद्ध प्रदेश निर्माण गर्नको लागि सबै क्षेत्रबाट सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताइन् । उनले कर्णालीमा कर्मचारी आउन नमान्ने कारणको अन्त्य गर्नका लागि सरकारले यो
निर्णय गरेको बताइन् । यो बाहेक बिमा, प्रसूति बिदा लगायतका अन्य सुविधामा समेत सरकारले बढवा दिने उनले जनाइन् ।

मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका विमानस्थलहरूको विस्तार तथा स्तरोन्नति गर्ने, पचालझरना गाउँपालिका ५ कालिकोट बस्ने मृतक खेलाडी समिपूरा बडेको बुवा रंगे नेपालीलाई आर्थिक सहयोग स्वरूप एक लाख उपलब्ध गराउने, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०७७÷०७८ मा समपूरक तथा विशेष अनुदानबाट सञ्चालन गर्ने योजना तथा कार्यक्रम स्वीकृत गर्ने लगायतका निर्णय पनि गरेको छ ।

पर्यटन बोर्डलाई पूर्णता

मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश पर्यटन बोर्डलाई पूूर्णता दिएको छ । प्रदेशका सबै जिल्लालाई समेट्ने गरी ११ जना सदस्य नियुक्त गरिएको छ । डोल्पाबाट बबिकिशोर गुुरुङ, जुुम्लाका ललितजङ्ग महत, मुुगुुका अदानसिंह कार्की, जाजरकोटका वेदबहादुर शाही, कालिकोटका मर्मजंग बम, दैलेखका विष्णुुप्रसाद शर्मा, रुकुुमपश्चिमका ललितसिंह घर्तीमगर, हुम्लाका लोकबहादुर हमाल, सुुर्खेतका चिन्तामणि शर्मा, सल्यानका ईश्वरी बुुढाथोकी र हुुम्लाका लैकुु लामालाई पर्यटन बोर्डको सदस्यमा नियुक्त गरिएको हो ।

प्रकाशित मितिः   १३ माघ २०७६, सोमबार १४:२४