सभामुखमा सापकोटा निर्विरोध

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन् । आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई सभामुख निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

ज्येष्ठ सदस्य ठाकुरले बैठक सुरु गरेलगत्तै सभामुख चयनको कार्यसूचीमा प्रवेश गरेको थियो । बैठकको सुरुमै ठाकुरले एकल उम्मेदवारी परेको सापकोटाको नाम प्रस्ताव र समर्थन गर्न समय दिएका थिए । त्यसपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले सभामुखमा सापकोटाको नाम प्रस्ताव गरे । नेम्बाङको प्रस्तावमा राष्ट्रिय जनता पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्ण र नेकपाकी सांसद ओनसरी घर्तीले सापकोटाको नाममा समर्थन जनाएका थिए । एक्लो उम्मदेवारी परेकाले सभामुखमा सापकोटा निर्वाचित भएका हुन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको भूमिका तटस्थ बनाउनैका लागि उम्मदेवारी नदिएको जनाएको छ । सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवम् तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण थिए ।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आइतवारका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । त्यस दिनको बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उप–सभामुख शिवमाया तुम्बाहाङफेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौन दुव्र्यवहारको विवादमा परेपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । सभामुखको निर्वाचनपछि अब उप–सभामुखको निर्वाचन कार्यतालिका तय हुनेछ । गत पुस ४ गते शुरु भएको संघीय संसद्को चालु पाँचौं अधिवेशन अन्तर्गत राष्ट्रियसभाका बैठक नियमित भए पनि प्रतिनिधिसभाको सभामुख रिक्तता र त्यसमा राजनीतिक सहमतिमा ढिलाइका कारण बैठक स्थगन हुँदै आएको थियो ।

प्रकाशित मितिः   १३ माघ २०७६, सोमबार १४:१२