अनुदानमा अनियमितताको आशंका
सुर्खेत : कर्णाली प्रदेश सरकारले वितरण गरेको अनुदानमा अनियमितता भएको आशंका गरिएको छ । कर्णाली प्रदेशसभा अन्तर्गतको अर्थ तथा प्राकृतिक स्रोत समितिले अनुगमन गरी यस्तो आशंका गरेको हो । समितिका अध्यक्ष अम्मरबहादुर थापाका अनुसार अनुगमन गर्दा अनुदानमा अनियमितता भएको हुन सक्ने देखिएको बताए । यद्यपि प्रतिवेदन भने तयार भइसकेको छैन । केही महिना अगाडि कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम र सुर्खेत जिल्लामा गरिएको अनुगमनका क्रममा अनियमितता भएको आशंका उब्जिएको थापाले बताए । ‘समितिका सदस्यहरूले तीन जिल्लामा अनुदानको रकम वितरण सम्बन्धी अनुगमन गरेका थियौं’ उनले भने ‘जसमा अनियमितताको आशंका छ ।’
पूर्ण रूपमा छानविन गर्न भने बाँकी नै रहेको उनले बताए । शनिवार बसेको समितिको बैठकमा अनुगमनको प्रारम्भिक रिपोर्टमाथि छलफल भएको समितिका सदस्य सीताकुमारी नेपालीले बताइन् । उनले बैठकमा समितिमा आएका केही विधेयकमाथि समेत छलफल गरिएको जानकारी दिइन् । नेपालीका अनुसार समितिले तीन जिल्लामा अनुगमन गरे पनि सुर्खेत जिल्लाको हकमा भने उपत्यकाभित्र मात्रै अनुगमन गरिएको थियो ।
प्रकाशित मितिः १२ माघ २०७६, आईतवार ०९:१३
साझा बिसौनी ।