संघका संस्थापक अध्यक्ष कार्की रहेनन्

karkiसाझा बिसौनी संवाददाता
सुर्खेत, ४ भदौ ।
सुर्खेतका अगुवा व्यवसायी नन्दबहादुर कार्कीको निधन भएको छ । सुर्खेत उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष कार्कीको उपचारको क्रममा निधन भएको हो । कार्कीको काठमाडौंमा उपचारका क्रममा शुक्रवार निधन भएको हो ।
२०३८ सालमा कार्कीको अध्यक्षतामा सुर्खेत उद्योग वाणिज्य संघ गठन भएको थियो । यसैबीच आफ्ना संस्थापक अध्यक्षको निधन भएपछि सुर्खेत उद्योग वाणिज्य संघले तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ । कार्कीको निधनपछि शनिवार बिहान बसेको संघको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । यसैगरी १३ दिनसम्म संघको कार्यालय परिसरमा शोक पुस्तिका राख्ने निर्णयसमेत भएको संघका महासचिव गोपालकृष्ण गिरीले जानकारी दिए ।
संस्थापक अध्यक्ष कार्कीको निधनले संघलाई ठूलो क्षति पुगेको भन्दै संघका अध्यक्ष प्रकाश अधिकारीले दुःख व्यक्त गरेका छन् । साथै उनले कार्कीको कुशल नेतृत्व र असल अभिभावकत्वलाई संघले सधैं सम्झिरहने उल्लेख गरे । २०३८ सालमा तदर्थ समिति गठन गर्ने बेलाका सदस्य रहेका हरिशचन्द्र चलाउनेले पञ्चायतकालको प्रतिबन्धित अवस्थामा कार्कीले निश्पक्षता र निडरतापूर्वक सङ्गठन स्थापना गरेको स्मरण गरे । नूनका खाली बोरा ओछ्याएर सुरु गरिएको संघ अहिले सुविधा सम्पन्न भएको उल्लेख गर्दै संघका आजीवन सदस्य चलाउनेले संघलाई थप सुदृढ एवम् मजबुत बनाउँदै लैजानुपर्ने जिम्मेवारी वर्तमान नेतृत्वमा आएको बताए ।

प्रकाशित मितिः   ५ भाद्र २०७३, आईतवार १०:०६