‘एमसीसी परिमार्जन गरेर पारित हुन्छ’

सुर्खेत : गृहमन्त्री रामबहादुर थापाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना परिमार्जन गरेर संसद्बाट पारित हुने बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले परिमार्जन गरेरै भए पनि एमसीसी पारित गर्ने बताएका हुन् । सरकार उक्त परियोजनाबारे गम्भीर रहेको भन्दै उनले राष्ट्रलाई हित हुुने गरी सदनबाट पारित हुुने विश्वास व्यक्त गरे । केही प्रावधानहरूलाई परिमार्जन गरेर पारित गरिने उनले बताएका हुन् । साथै उनले मुलुकको हितविपरितका कुनै पनि काम सरकारले नगर्ने दावी समेत गरे । यसैगरी नेपाल–भारत सीमा विवादलाई कुुटनीतिक पहलबाट समाधान गर्न सरकार लागिपरेको बताए । अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि सृदढ बनाउँदै लिनुुका साथै अन्य मुुलुुकहरूसँग सम्बन्ध विस्तार गरिएको गृहमन्त्री थापाको भनाइ थियो ।

देशलाई विखण्डन गर्ने पृथकतावादीलाई देशको मूल प्रवाहमा ल्याउन सफल भएको जिकिर समेत उनले गरेका थिए । देशको शान्ति सुरक्षामा सरकारले प्रगति गर्दै गइरहेको उल्लेख गर्दै विशेष गरेर देश विखण्ड गर्ने पृथकतावादीलाई मूल प्रवाहमा ल्याउन वर्तमान सरकार सफल भएको दावी थापाको थियो । गृहमन्त्री थापाले यस्ता शक्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न सरकार छिट्टै नै सफल हुुने विश्वास पनि व्यक्त गरे ।

पछिल्लो समय नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई पनि आधारभूत रूपमा नियन्त्रणमा लिइसकिएको थापाको भनाइ छ । राज्य र संविधानविरुद्धका गतिविधिमा प्रतिबन्ध लगाइएको उल्लेख गर्दै प्रशासन र वार्तामार्फत मूल प्रवाहमा ल्याउने प्रयास गरेको बताए । उनले देशको सुशासनको स्थिति सुुधारोन्मुुख हुुँदै गएको पनि दावी गरे । सुशासनविना विकास सम्भव नभएको बताउँदै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताए ।

प्रकाशित मितिः   १२ माघ २०७६, आईतवार ०९:१०