पीडितले बयान फेर्दा समस्या
सुर्खेत : अदालतमा आउने मुद्दामा ९० प्रतिशत पीडितले बयान फेर्ने गरेको पाइएको छ । जघन्य अपराधका मुद्दामा पनि पीडितले नै बयान फेरिदिँदा न्याय निरूपणमा समस्या हुने गरेको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रप्रसाद शर्माले ९० प्रतिशत पीडितले नै बयान फेर्ने भएपछि न्याय मर्दै गएको बताए । ‘यथार्थमा घटना भएको हुन्छ’ उनले भने ‘तर अदातलमा मुद्दा आइपुग्दासम्म पीडितले होइन भन्ने बयान दिन्छ ।’ घटना भएपछि घटना दर्ता हुँदासम्मको अवस्था ठिकै भए पनि बयानका क्रममा पीडित विभिन्न डर, धम्की र प्रलोभनमा पर्ने उनले बताए । एउटा घटनामा पाँचजना भन्दा बढी विचौलिया पछि लाग्ने गरेको पनि पाइएको न्यायाधीश शर्माको भनाइ थियो ।
समाजका टाँठाबाठा भन्नेहरूले मिलाइदिने नाममा घटनाले अर्कै रूप लिने उनले बताए । ‘पीडितले बयान फेर्दा पीडकको मनोबल झन् बढेको छ’ उनले थपे ‘जब कसैको ज्यान मार्ने मान्छेलाई नै पीडितले होइन भन्ने बयान दिन्छ भने उसले भोलि अर्कोलाई पनि मार्छ ।’ बहुविवाह, बलात्कार, कर्तव्य ज्यानलगायतका मुद्दामा पीडितले नै बयान फेर्ने गरेको उनले बताए । समाजमा अदालतले न्याय नदिएको भन्ने भ्रम पीडितले नै गराएको उनले आरोप लगाए ।
जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । अदालतका अनुसार यो वर्षको पुस मसान्तसम्ममा दुई सय २१ नयाँ घटना दर्ता भएका छन् भने अघिल्लो वर्षबाट एक सय ४९ घटना जिम्मेवारी सरी आएका थिए । जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले ६ महिनाको अवधिमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका घटना अदालतमा दर्ता भएको जानकारी दिए । त्यस्तै जबरजस्ती करणीका ६०, घरेलुहिंसाका ३४, कर्तव्य ज्यानका १५, बहुविवाह ११ घटना दर्ता भएका छन् ।
अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएकासहित जिल्ला अदालत सुर्खेतमा सम्बन्ध विच्छेदका तीन सय ७०, जबरजस्ती करणीका ८१, लागूऔषधका ४३, घरेलु हिंसाका ३४, कर्तव्य ज्यानका २१ मुद्दा रहेका छन् । अदालतमा अझै १ हजार ४० जना कैद जरिवाना लागेको व्यक्तिको संख्या, कैद लागेका दुई सय ७ र जरिवाना मात्रै लागेका चार सय ५१ व्यक्ति रहेको भण्डारीले जानकारी दिए ।
प्रकाशित मितिः ११ माघ २०७६, शनिबार ०५:०९
साझा बिसौनी ।