प्रविधिमैत्री शिक्षामा जोड
सुर्खेत : समावेशी शिक्षाका लागि प्रविधि आवश्यक भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । शुक्रवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना तथा जिल्ला विकास तथा समन्वय इकाईको संयोजनमा भएको भर्चूअल कक्षा शिक्षण अभिमुखीकरण एवम् पृष्ठपोषण संकलन गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धिरेन्द्रप्रसाद शर्माले समावेशी शिक्षाका लागि प्रविधि आवश्यक भएको बताए । उनले वैकल्पिक शिक्षकका लागि पनि भर्चूअल कक्षा शिक्षणविधि अपनाउनुपर्नेमा जोड दिए । ‘विद्यार्थीले इन्टरनेटबाट सामूहिक पढ्न पाउने गरी हामीले व्यवस्था गरेका छौं’ उनले भने ‘अनलाइनमार्फत दोहोरो पढ्न पाउने अवसर हामीले दिएका छौं ।’ भर्चूअल कक्षामा रेकर्ड गरिएको कक्षा विद्यार्थीले पढ्न पाउने व्यवस्था एकहोरो प्रणाली भएको भन्दै शर्माले भेरीगंगाले दोहोरो प्रणाली अपनाएको बताए । भेरीगंगाका केही विद्यालयमा यो विधि सुरु गरी अध्यापन गराउँदै आएको उनले बताए ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उप–सचिव ललितविक्रम सिंहले नगरपालिकाका ६ वटा विद्यालयमा यो कार्यक्रम लागू गर्नेगरी तयारी भएको बताए । पहिलो चरणमा अमरज्योति माध्यमिक विद्यालय नेवारेमा सुरु गरेपश्चात् अन्य विद्यालयमा सुरु गरिने उनले बताए । अनलाइनबाट विद्यार्थीले पढ्न पाउँदा शिक्षकको दरबन्दी थोरै भएको स्थानमा वैकल्पिक शिक्षकको काम र समावेशी शिक्षा विद्यार्थीले पाउने उनले बताए । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधवप्रसाद दाहालले यो शिक्षा प्रणाली भूकम्प प्रभावित क्षेत्रमा २०७२ सालपछि सुरु गरिएको बताए । उनले भौतिक संरचना नभएको र शिक्षकहरू समेत नभएको अवस्थामा रेकर्ड गरी टेलिभिजनमार्फत भर्चूअल शिक्षा दिइएको बताए । विशेषगरी कक्षा ९ र १० कक्षाका गणित, अंग्रेजी र विज्ञान विषयका कक्षा यसरी दिइएको उनले बताए ।
प्रकाशित मितिः ११ माघ २०७६, शनिबार ०५:०७
साझा बिसौनी ।