त्रिकोणात्मक सिरिजका लागि टिम घाेषणा

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु भूमिमा हुने पहिलो एकदिवसीय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले घोषणा गरेको टिममा एक खेलाडीले पहिलो पटक स्थान बनाएका छन् । एकदिवसीयतर्फ दुई नयाँ खेलाडीले स्थान बनाएका छन् । कमलसिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् । यस्तै सुशन भारी र कुशल मल्लले पहिलो पटक एकदिवसीय टिममा परेका छन् । सोमपाल कामी चोटको कारण र बसन्त रेग्मी घरायसी कारण टिममा रहेका छैनन् ।कीर्तिपुरस्थित टीयू मैदानमा हुने सिरिज माघ २२ गतेदेखि २९ गतेसम्म चल्नेछ । टिममा स्थान बनाउने अन्य खेलाडीहरूमा दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेषवाकर र ललित राजवंशी रहेका छन् । यस्तै पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतोलाई वैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । सिरिजका लागि अमेरिका र ओमानले यसअघि नै टिमको घोषणा गरिसकेका छन् । सिरिजका लागि नेपालले पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेल खेलेको थियो । मलेसिया–११ सँगको तीन अभ्यास खेलमा क्यान–११ ले तीनै खेल जितेको थियो ।