राष्ट्रिय गौरवका आयोजनाः प्रगति निराशाजनक
सुर्खेत : राष्ट्रिय गौरवका अधिकांश आयोजनाको खर्च अवस्था यो वर्ष पनि निराशाजनक देखिएको छ । गत वर्ष केही प्रगति देखिए पनि यो वर्षको ६ महिनायता खर्च केबल १८ प्रतिशत मात्रै देखिएको हो । राष्ट्रिय गौरवका १७ आयोजनालाई विशेष प्राथमिकता दिइएको दाबी सरकारले गर्दै आएको छ । यी आयोजना निर्माणका क्रममा कुनै समस्या आउन नदिने प्रतिवद्धता सरकारबाट आइरहँदा खर्चको अवस्था भने एकदमै कमजोर देखिएको हो ।
सरकारको उच्च प्राथमिकतामा परेका राष्ट्रिय गौरवका आयोजनाको खर्च भने निराशाजनक देखिएको छ । यो आर्थिक वर्षमा सरकारको औषत खर्च भन्दा राष्ट्रिय गौरवका आयोजनाको खर्च कमजोर देखिएको छ । ६ महिनामा सरकारको औषत खर्च प्रतिशत पुगे पनि राष्ट्रिय गौरवका आयोजनाको खर्च केबल १८ प्रतिशत छ ।
सरकारले उच्च प्राथमकितामा राखेर चालु आर्थिक वर्षमा २१ मध्ये १७ आयोजनलाई चालु आर्थिक वर्षमा खर्च विनियोजन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको आधा अवधि सकिँदा राष्ट्रिय गौरवका आयोजनका खर्च १८ प्रतिशत मात्रै छ ।
राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने जनाउँदै अन्य समस्या पनि समन्वय गरी समाधान निकालेर तोकिएकै सीमाभित्र पूरा गर्ने वाचा पटकपटक आइरहेको छ । तर खर्चको अवस्था हेर्दा सरकारको बाचा व्यवहारमा नउत्रेको देखिएको छ । गत आर्थिक वर्ष राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्याएको ८८ अर्बको बजेटमा ८९ प्रतिशत खर्च भएको थियो । चालु आर्थिक वर्षमा सरकारले यी आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको छ ।
पुरानै लय
अघिल्ला आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा समग्र खर्चभन्दा कम हुने गरेको थियो । गत आर्थिक वर्षमा केही उत्साहजनक देखिएको अवस्थामा चालु आर्थिक वर्षमा खर्च कमजोर देखिएको हो । एक खर्ब एक अर्बको बजेटमा ६ महिनायता १८ अर्ब ३२ करोड रुपैयाँ मात्रै खर्च भएको छ । त्यस्तो गत वर्ष अर्धवार्षिक समीक्षासम्मको अवस्थामा पनि २८ प्रतिशत मात्रै खर्च देखिए थियो । त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता देखाएका थिए । राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै अनुगमन गर्दै चालु आर्थिक वर्षमा भने ६ महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा १० प्रतिशत न्यून छ । आर्थिक वर्ष २०७४र७५ मा राष्ट्रिय गौरवका आयोजनामा बजेट विनियोजन गरिएको रकममा ४९ प्रतिशत खर्च भएको थियो गत आर्थिक वर्ष ८९ प्रतिश खर्च भएको रेकर्ड छ ।
राष्ट्रिय गौरवका आयोजनाको खर्च प्रगति ८९ प्रतिशत, कुन आयोजनामा कति खर्च?
तर चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि २० प्रतिशत खर्च पुगेको छैन । यसमा पनि विकास खर्च प्रतिशतको तुलनामा राष्ट्रिय गौरवका आयोजनाको लागि लिएको ऋणको सावा वा व्याज तिर्न गरिएको खर्च प्रतिशत बढी छ । यस्तो खर्च अहिले ३७ प्रतिशत भएको छ । प्रशासनिक खर्च २५ प्रतिशत पुग्दा पुँजीगत खर्च भने १४ प्रतिशत मात्रै छ ।
ऋण तिर्दा बढेको खर्च
राष्ट्रिय गौरवका आयोजनामा गरिएको खर्चमा अहिलेसम्म कर्मचारीको तलबमा मात्रै बजेट केन्द्रित भएको देखिएको छ । सरकारले चालु खर्चको लागि दुई अर्ब १६ करोड रुपैयाँ पुँजीगत खर्चको लागि ८५ अर्ब सात करोड रुपैयाँ र वित्तीय व्यवस्थापनको लागि लिएको ऋणको ब्याज तथा सावा फिर्तामा १३ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
यस हिसाबले चालु खर्चको लागि १ प्रतिशत र पुँजीगत खर्चको लागि ८४ र वित्तीय व्यवस्थापनको लागि १५ प्रतिशत खर्च विनियोजन गरिएको छ । साढे चार महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षमा विनियोजन गरिएको रकममा ५ अर्ब १६ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ । महाहलेखाका नियन्त्रकको कार्यालयका अनुसार ६ महिनाको अबधिमा ८५ अर्ब बजेटमा पुँजीगत खर्च १२ अर्ब ६१ करोड भएको छ भने चालु खर्च ५४ करोड ८५ लाख पुगेको छ । चालु खर्च मध्ये ६ महिनामा ५४ करोड ८५ लाख रुपैयाँ भएको छ । यी पाँच आयोजना जसको ६ महिना वित्दा १० प्रतिशत पनि खर्च छैन, दुई आयोजनाको शून्य खर्च छ । पशुपति क्षेत्र विकास कोषको लागि ३५ करोड चालु खर्चतर्फ विनियोजन गरिएको थियो । तर उक्त रकम अहिलेसम्म निकासा नभएको महालेखाको तथ्यांकले देखाएको छ ।
त्यस्तै निजगढ विमानस्थलको लागि चालु वर्ष एक अर्ब ५० करोड रुपैयाँ विनयोजन गरिएपनि एक रुपैयाँ खर्च भएको छैन । १३ अर्ब ५७ करोड बजेट विनियोजन गरिएको बूढीगण्डकी जलविद्युत आयोजनाको खर्च ६ महिनाको अवधिमा एक अर्ब २ करोड छ । बहुप्रतिक्षित मेल्मची खानेपानी आयोजनाको खर्चको गति थप कमजोर देखिन्छ ।
६ महिनाको अवधिमा मेलम्चीलाई छुट्टाइएको बजेटमा ५ प्रतिशत मात्रै खर्च भएको छ । यस आयोजनाको लागि चालु वर्ष सात अर्ब ३८ करोड विनियोजन गरिएकोमा ६ महिनामा ३७ करोड खर्च भएको छ यसमध्ये २ करोड चालु हो भने ३५ करोड पुँजीगत भएको छ । नेपाली सेनाले निर्माण जिम्मा लिएको द्रूर्त मार्गको खर्च पनि निकासको हिसाबले अत्यन्त न्युन देखिएको छ । सेनाले भौतिक प्रगति उल्लेख्य भएको जनाएपनि सरकारबाट चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ निकासा भएको छ । सरकारले चालु आर्थिक वर्षमा यो आयोजनालाई १५ अर्ब रुपैयाँ निकासा गरेको थियो ।
५० प्रतिशत माथिको खर्च
६ महिनाको अवधिमा ५० प्रतिशत माथि खर्च गर्ने आयोजनाको संख्या २ छ । तर दुबैको ऋण तिर्न मात्रै रकम विनियोजन गरिएको थियो । माथिल्लो तामाकोशीको लागि चालु आर्थिक वर्षमा वित्तीय व्यवस्थापन शीर्षकमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ६ महिनाको अवधिमा सावा तथा व्याज भुक्तानी वापत ६६ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै सावा तथा व्याज तिर्न पोखरा क्षेत्रीय विमानस्थलको नाममा आठ अर्ब रुपैयाँ विनियोजन गरिएकोमा चार अर्ब रुपैयाँ निकासा भइसकेको छ ।
सामान्य भौतिक प्रगति
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ । कतिपय आयोजना भने चर्चा रहेका छन् तर प्रगति शून्य छ । अहिलेसम्म बूढीगण्डकी जलविद्युत् आयोजन निजगढ विमानस्थर र पश्चिमसेती जलविद्युत् आयोजनको भौतिक प्रगति शून्य प्रतिशत छ ।
प्रधानमन्त्री कार्यालयको विवरण अनुसार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामो समयदेखि ९९ प्रतिश काम सकिएर पनि एक प्रतिशत काम नसकिँदा पूर्ण हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजना ९४ प्रतिश काम सम्पन्न भएर पनि अलपत्र रहेको छ । लुम्बिनी र पशुपति विकास कोषको हालसम्मको भौतिक प्रगति क्रमश ८२ र ६५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०६२र६३ बाट निर्माण प्रकिया सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको काम अझै ४० प्रतिशत बाँकी रहेको छ । गत वर्ष उल्लेख्य काम भएको हुलाकी सडक आयोजनाको काम ४२ प्रतिशत र , पुष्पलाल मध्यपहाडी लोकमार्गको काम ४३ प्रतिशत सकिएको उल्लेख गरिएको छ । हालसम्म दुई आयोजनाको काम ९० प्रतिशतमाथि दुई आयोजनाको काम ८० प्रतिशतदेखि ९० प्रतिशत सम्मको प्रगति भएको छ भने १० आयोजनाको काम दुई देखि ६५० प्रतिशतसम्म छ ।
प्रकाशित मितिः १० माघ २०७६, शुक्रबार ०५:००
साझा बिसौनी ।