कर्णालीको ‘विकास मोडेल’ बनाइँदै

पञ्चवर्षीय योजनालाई अन्तिम रुप दिने तयारी

सुर्खेत : कर्णाली प्रदेशको विकास मोडेल बनाइने भएको छ । पाँच वर्षभित्र समृद्ध कर्णाली निर्माण गर्ने लक्ष्यसहित नयाँ मोडेल तयार गर्न लागिएको हो । प्रदेश योजना आयोगले यसको खाका तयार पारिसकेको छ । जसलाई आज (शुक्रवार) हुने प्रदेश विकास परिषद्को बैठकमा छलफल गरी अन्तिम रूप दिने तयारी गरिएको छ ।

विकासमा पछि परेको कर्णालीको तीव्र गतिमा विकास गर्ने योजना बनाइएको हो । विभिन्न चरणमा सरोकारवाला र विज्ञहरूसँग छलफल गरेर तयार पारिएको पञ्चवर्षीय योजना (२०७६÷०७७–२०८०÷०८१) आधारपत्रमाथि विकास परिषद्मा छलफल हुँदैछ । उक्त छलफलमा आएका सुझावलाई समेटेर योजनालाई अन्तिम रूप दिइने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पूण्यप्रसाद रेग्मीले जानकारी दिए । उनले पूर्वाधारलाई प्राथमिकता दिएर बनाउँदै गरेको योजनालाई पटक–पटक विभिन्न विज्ञ समूहहरूमा छलफल गराइसकिएको भए पनि अन्तिम छलफल विकास परिषद्को बैठकमा गरिने बताए ।

पञ्चवर्षीय योजनामा विकासका विभिन्न पूर्वाधार निर्माणदेखि नागरिकको आम्दानी बढाउनेसम्मका योजना समावेश गरिएको छ । रेग्मीले कर्णाली प्रदेशले प्रथम पञ्चवर्षीय योजनाले अन्तिम रूप पाएपश्चात् विकासको मोडालिटी नै परिवर्तन हुने बताए । ऊर्जा, सिँचाइ, सञ्चार, सामाजिक विकास, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको छ ।

त्यस्तै पानी, खनिज, वन र जडिबुटीजन्य पदार्थहरूको उत्पादन गर्ने, कृषिजन्य उत्पादनलाई बढावा दिने गरी योजनाको आधार–पत्र तयार पारिएको छ । कर्णालीको पर्यटन, कृषि, उद्योग र सेवालाई समेत उच्च प्राथमिकतामा राखिएको उपाध्यक्ष रेग्मीले जानकारी दिए । ‘कर्णालीको विकास अब नयाँ मोडलबाट गरिने छ’ उनले साझा बिसौनीसँग भने ‘योजना राम्रो बन्न सक्यो भने विकासले नयाँ मोड लिन्छ ।’ बैठकमा योजनाको विषयमा छलफल भएपश्चात् योजना आयोगले केही परिमार्जन गरी सरकारलाई उक्त योजना बुझाउने तयारी रहेको रेग्मीले बताए ।

पूर्वाधार विकासका साथसाथै पाँच वर्षमा कर्णालीका नागरिकको प्रतिव्यक्ति आय अहिलेको भन्दा झण्डै दोब्बरले वृद्धि गर्ने लक्ष्य राखिएको छ । कर्णाली प्रदेशको हालको प्रतिव्यक्ति आय ६ सय ६ अमेरिकी डलर रहेको छ । आगामी पाँच वर्षभित्रमा एक हजार एक सय ४७ अमेरिकी डलर पु¥याउने लक्ष्यसहित कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजना निर्माण गर्न लागिएको जनाइएको छ । ५२ प्रतिशत नागरिक बहुआयामिक गरिबीको रेखामुनी रहेका कारण उनीहरूलाई सम्पन्न र प्रदेशलाई समृद्ध बनाउने दावी योजना आयोगको छ । आगामी पाँच वर्षभित्रमा कर्णालीको विकास अन्य प्रदेशहरूका लागि पनि उदाहरणीय हुनेगरी काम गर्ने लक्ष्य राखिएको छ ।

आज (शुक्रवार) वीरेन्द्रनगरमा बस्ने विकास परिषद्को बैठकको प्रमुखमध्येको एक एजेण्डा पञ्चवर्षीय योजनाको आधार–पत्रमा छलफल गर्नु भएको योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले बताए । उनका अनुसार आगामी पाँच वर्षको लागि कर्णालीमा बन्न लागेको पञ्चवर्षीय योजनाको आधारपत्रमाथि बैठकमा घनीभूत छलफल हुने छ । उनले यस अघि आधारपत्रमा विभिन्न स्थानमा छलफल भइसकेको बताउँदै यो छलफल अन्तिम भएको जानकारी दिए । ‘हामीहरूले धेरै मेहेनत गरेर प्रथम पञ्चवर्षीय योजनाको आधार–पत्र तयार गरेका छौं’ रोकायले भने ‘यसलाई कार्यान्वयन गर्न सकेको खण्डमा कर्णालीमा विकासको मूल फुट्नेछ ।’
विकास परिषद्को बैठकमा प्रदेशभरका जनप्रतिनिधिहरूको सहभागिता हुने भएकाले छलफलको मुख्य विषय बनाइएको छ । प्रदेश सरकारका मन्त्री, प्रदेशका सबै स्थानीय तहका प्रमुख तथा अध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, पाँच जना विषयगत विज्ञ लगायत गरेर बैठकमा एक सय २० जनाको सहभागिता रहन्छ ।
कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीले विकास परिषद्को बैठकको तयारी पूरा भएको जानकारी दिए । उनले सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सूचना गरेको भन्दै बैठकमा कर्णालीमा निर्माण हुँदै गरेको प्रथम पञ्चवर्षीय योजनाको छलफल प्रमुख एजेण्डा रहेको बताए ।

प्रकाशित मितिः   १० माघ २०७६, शुक्रबार ०५:००